बैंकिङ खबर / स्थानीयस्तरमा वित्तीय तथा बैंकिङ सेवा पुर्याउँदै आएको जन जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धनुषाको धारापानीस्थित संस्थाको आफ्नै कार्यालय परिसरमा आयोजित साधारणसभा संस्थाका सञ्चालक समिति अध्यक्ष रेशम प्रसाद वास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा धनुषाधाम नगरपालिका–९ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी संजीव यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले दुर्गम तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा सहकारीले पुर्याउँदै आएको योगदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई बचत गर्ने बानीको विकास गराउँदै आवश्यकताअनुसार सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउनु सहकारीको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ थियो ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यहरूको हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ। संस्थाले आगामी दिनमा सदस्यलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउँदै स्थानीयस्तरमा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।