बैंकिङ खबर / नेपालमा लघुवित्तको विकास र विस्तारको इतिहास चर्चा गर्दा स्वर्गीय डा. हरिहर देव पन्तको नाम अग्रपंक्तिमा आउँछ। मौद्रिक अर्थशास्त्री, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा निर्धन उत्थान बैंकका संस्थापक एवं कार्यकारी सञ्चालक डा. पन्तलाई नेपालमा लघुवित्तका पिता भनेर चिनिन्छ।
ग्रामीण तथा विपन्न परिवारलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्ने अभियानमा डा. पन्तले तीन दशकभन्दा बढी समय योगदान गरे। विशेषगरी ग्रामीण क्षेत्रका गरिब तथा विपन्न परिवार, त्यसमा पनि महिलालाई लक्षित गरी वित्तीय पहुँच विस्तार गर्ने, उनीहरूको आयआर्जन क्षमता बढाउने र सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उनको अभियान थियो।
नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच सीमित रहेका बेला ग्रामीण क्षेत्रका विपन्न परिवारलाई वित्तीय सेवामा जोड्नु आफैंमा ठूलो चुनौती थियो। डा. पन्तले यही चुनौतीलाई अवसरका रूपमा लिएर ग्रामीण वित्तीय कार्यक्रम विस्तारमा महत्वपूर्ण भूमिका खेले। वित्तीय पहुँचबाट लामो समयदेखि वञ्चित ग्रामीण समुदाय र विशेषगरी महिलालाई आर्थिक विकासको मूलधारमा ल्याउन सके मात्रै गरिबी न्यूनीकरणको प्रयास प्रभावकारी हुने उनको विश्वास थियो। महिलाको आर्थिक सशक्तीकरणबिना परिवार, समाज र समग्र मुलुकको आर्थिक विकास दिगो हुन नसक्ने उनको मान्यता थियो।
बंगलादेशको भ्रमणले देखाएको नयाँ बाटो
नेपालमा लघुवित्त कार्यक्रमको सुरुवातको आधार डा. पन्तको बंगलादेश भ्रमणलाई मानिन्छ। नेपाल राष्ट्र बैंकमा वरिष्ठ अधिकृतका रूपमा कार्यरत रहेका बेला उनले वि.सं. २०४३ सालमा बंगलादेशको ग्रामीण बैंकको अवलोकन भ्रमण गरेका थिए। त्यहाँ उनले मोहम्मद युनुसले प्रतिपादन तथा सञ्चालन गरेको ग्रामीण बैंकको वित्तीय प्रणालीको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए। गरिब तथा विपन्न परिवारलाई बिना धितो सामूहिक जमानीमा सानो–सानो कर्जा उपलब्ध गराएर आयआर्जन तथा उद्यमशीलतामा जोड्ने उक्त प्रणालीले उनलाई प्रभावित गर्यो।
नेपाल फर्किएपछि उनले नेपालमा पनि ग्रामीण तथा विपन्न परिवारका लागि यस्तै प्रकारको वित्तीय कार्यक्रम आवश्यक रहेको निष्कर्ष निकाले। त्यसपछि नेपालमा लघुवित्त कार्यक्रमको संस्थागत सुरुवात गर्ने अभियान अघि बढ्यो। डा. पन्तकै पहलमा वि.सं. २०४७ साल चैत १७ गते ‘निर्धन’ नामक गैरसरकारी संस्था समाज कल्याण परिषद्मा दर्ता भयो। त्यसपछि रुपन्देही जिल्लाको सिक्टहन गाविसस्थित बिर्ता गाउँमा निर्धनले आफ्नो पहिलो शाखा स्थापना गर्यो। वि.सं. २०४९ साल चैत १ गते रुपन्देहीको सिक्टहनबाट बिना धितो सामूहिक जमानीमा पहिलोपटक कर्जा प्रवाह गरियो। यही घटनालाई नेपालमा विधिवत् रूपमा लघुवित्त कार्यक्रमको सुरुवातका रूपमा लिइन्छ।
त्यतिबेला बैंक तथा वित्तीय संस्थाको पहुँचबाट बाहिर रहेका अत्यन्त विपन्न परिवारका महिलालाई लक्षित वर्ग बनाइएको थियो। उनीहरूलाई समूहमा आबद्ध गरी सामूहिक जमानीका आधारमा आयआर्जनका लागि कर्जा उपलब्ध गराउने र बचत गर्ने बानीको विकास गराउने अभ्यास सुरु भयो। यसरी नेपालमा ग्रामीण बैंकिङ प्रणालीमा आधारित लघुवित्त कार्यक्रमले संस्थागत रूप लिन थाल्यो।
‘निर्धन’ हुँदै निर्धन उत्थान
लघुवित्त कार्यक्रमलाई संस्थागत र दीर्घकालीन रूपमा अघि बढाउने क्रममा डा. पन्तकै पहलमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना भयो। यसले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै विपन्न तथा न्यून आय भएका परिवारलाई कर्जा, बचतलगायत वित्तीय सेवासँग जोड्ने कामलाई निरन्तरता दियो। लघुवित्तलाई केवल ऋण वितरण गर्ने माध्यमका रूपमा नभई गरिबी न्यूनीकरण र उद्यमशीलता विकासको औजारका रूपमा स्थापित गर्नुपर्नेमा डा. पन्तले जोड दिँदै आएका थिए। उनको दृष्टिमा लघुवित्तको वास्तविक सफलता कति ऋण वितरण भयो भन्नेमा मात्र नभई ऋण लिने परिवारको आय, रोजगारी र जीवनस्तरमा कति सुधार आयो भन्नेमा निर्भर थियो। डा. पन्तले तराई तथा ग्रामीण क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि लघुवित्त कार्यक्रम विस्तार गर्न महत्वपूर्ण भूमिका खेले। वि.सं. २०६० सालमा उनले ‘स्वावलम्बी समूह पद्धति’को अवधारणा अघि सार्दै पहाडी क्षेत्रमा समेत लघुवित्त कार्यक्रम विस्तार गर्ने आधार तयार गरे। यसले भौगोलिक रूपमा कठिन तथा बैंकिङ पहुँच न्यून भएका क्षेत्रमा रहेका विपन्न परिवारलाई समेत वित्तीय सेवासँग जोड्न सहयोग पुर्यायो। क्रमशः लघुवित्त संस्था र कार्यक्रमहरू देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार हुँदै गए।
गरिबी न्यूनीकरणको औजार बन्दै लघुवित्त
नेपालमा लघुवित्तको विस्तारसँगै यसको प्रभाव पनि ग्रामीण अर्थतन्त्रमा देखिन थाल्यो। सानो आकारको कर्जामार्फत कृषि, पशुपालन, व्यापार, घरेलु तथा साना उद्यम सञ्चालन गर्ने अवसर विपन्न परिवारले पाए। विशेषगरी महिलाको आर्थिक सहभागिता र वित्तीय पहुँच बढाउन लघुवित्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
लघुवित्तमार्फत बचत गर्ने बानीको विकास, साना उद्यम सञ्चालन, आयआर्जनका अवसर सिर्जना तथा महिलाको आर्थिक निर्णय क्षमतामा वृद्धि हुन थालेको देखिन्छ। यसले ग्रामीण समुदायमा आर्थिकसँगै सामाजिक परिवर्तन ल्याउन पनि योगदान पुर्याएको छ।
डा. पन्तले लघुवित्तको मूल उद्देश्य नै सबैभन्दा गरीब र वित्तीय पहुँचबाट वञ्चित वर्गसम्म पुग्नु रहेको बताउँदै आएका थिए। उनका अनुसार लघुवित्त कार्यक्रम आफ्नो मूल मर्मबाट विचलित नभई वास्तविक विपन्न वर्गसम्म पुग्न सके मात्रै यसको उद्देश्य पूरा हुन सक्छ। उनले लघुवित्त क्षेत्रमा दोहोरो कर्जा प्रवाह रोक्नुपर्ने, ऋणीको वास्तविक आवश्यकता पहिचान गर्नुपर्ने र कर्जालाई उद्यमशीलता तथा आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिएका थिए। लघुवित्तमार्फत गरिबी न्यूनीकरण गर्न कर्जा वितरण मात्र पर्याप्त नभई ऋणीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु आवश्यक रहेको उनको धारणा थियो। डा. पन्तको यही सोच र अभियानले नेपालमा लघुवित्तको संस्थागत विकासको आधार तयार गर्यो। आज नेपालका ग्रामीण तथा विपन्न समुदायसम्म वित्तीय पहुँच विस्तार हुनुमा उनको योगदानलाई महत्वपूर्ण आधारका रूपमा हेरिन्छ।