बैंकिङ खबर / बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो। उक्त सेवा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा सञ्चालन गरिएको सुविसुले जनाएको छ ।
भैरुम माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले विपद्को समयमा राहत शिविरमा रहेका प्रभावित परिवारका लागि सञ्चार अत्यावश्यक रहेको भन्दै सुविसुले उपलब्ध गराएको निःशुल्क Wi-Fi सेवाले आफन्त तथा परिवारसँग सम्पर्कमा रहन सहज बनाएको बताए। उनले कठिन परिस्थितिमा प्रभावित परिवारको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोगका लागि सुविसुप्रति आभार व्यक्त गरे ।
त्यस्तै, समाजसेवी रमेश श्रेष्ठले विपद्को समयमा सञ्चारको महत्व अझ बढ्ने उल्लेख गर्दै निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन महत्वपूर्ण सहयोग पुगेको बताए।सुविसुले विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकका लागि निःशुल्क Wi-Fi सेवा उपलब्ध गराएको छ। उक्त स्थानमा करिब ३०० देखि ४०० जनाले सेवा प्राप्त गर्ने बताइएको छ।
चन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीले विपद्को कठिन परिस्थितिमा विद्यालयमा आश्रय लिइरहेका प्रभावित परिवारका लागि सुविसुको निःशुल्क इन्टरनेट सेवा महत्वपूर्ण सहयोग भएको बताए। उनले यसले प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको भन्दै सुविसुप्रति धन्यवाद व्यक्त गरे ।
विपद्को समयमा सञ्चार सुविधा मात्र नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण भूमिका खेल्ने सुविसुको विश्वास छ। समुदायको आवश्यकता र परिस्थितिअनुसार सहयोग गर्ने उद्देश्यले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।