बैंकिङ खबर / रसुवागढी नाकामा बाढीका कारण भएको क्षतिसँगै चीनसँगको व्यापारिक आवागमन प्रभावित हुँदा त्यसको असर रसुवा क्षेत्रका बैंक तथा वित्तीय संस्थाको कारोबारमा समेत देखिन थालेको छ ।
नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रूपमा रहेको रसुवागढीमा भौतिक संरचनामा क्षति पुगेपछि आयात–निर्यात गतिविधि सुस्त बनेको छ। व्यापारिक कारोबार घटेसँगै त्यसमा आधारित बैंकिङ सेवा तथा वित्तीय गतिविधिमा पनि कमी आउन थालेको बैंकरहरूले बताएका छन् ।
नाकामार्फत हुने व्यापार प्रभावित हुँदा व्यवसायीहरूको कारोबार घटेको छ। यसको प्रत्यक्ष असर बैंकबाट हुने एलसी, भुक्तानी, व्यापारिक कर्जा तथा अन्य वित्तीय कारोबारमा परेको छ। विशेषगरी रसुवा र आसपासका क्षेत्रमा व्यापारमा निर्भर व्यवसायीको गतिविधि घट्दा बैंकका शाखाहरूको नियमित व्यवसायसमेत प्रभावित भएको बताइएको छ ।
एक बैंकरका अनुसार नाका बन्द भएपछि सीमा क्षेत्रमा आर्थिक गतिविधि नै खुम्चिएको छ। व्यापारिक कारोबार नहुँदा बैंकिङ व्यवसायमा पनि त्यसको असर देखिन थालेको उनको भनाइ छ।व्यवसायीहरूले सामान आयात गर्न नसक्दा उनीहरूको नगद प्रवाहमा समेत समस्या देखिएको छ। व्यापारिक गतिविधि लामो समयसम्म सामान्य अवस्थामा फर्किन नसके सञ्चालनमा रहेका कर्जाको भुक्तानी र नयाँ कर्जा मागमा समेत दबाब पर्न सक्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
बाढीका कारण सडक, पुल तथा नाका आसपासका संरचनामा भएको क्षति तत्काल पुनर्निर्माण हुन नसके त्यसको असर सीमा क्षेत्रको अर्थतन्त्रमा अझै बढ्न सक्ने देखिएको छ। व्यापारिक गतिविधि सुस्त हुँदा त्यससँग जोडिएका बैंक तथा वित्तीय संस्थाको कारोबार र व्यवसाय विस्तारमा समेत चुनौती थपिने बैंकरहरूको भनाइ छ।रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्रै व्यापारिक गतिविधि पुरानै अवस्थामा फर्किने अपेक्षा गरिएको छ। नाका सञ्चालनमा हुने ढिलाइले स्थानीय व्यवसायदेखि बैंकिङ क्षेत्रसम्मको आर्थिक गतिविधिलाई थप प्रभावित पार्न सक्ने देखिएको छ ।