Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रसुवा–नुवाकोटका १७ बैंक शाखामा ठूलो क्षति, ५५ करोडभन्दा बढीको स्थिर सम्पत्ति नष्ट

२०८३ भाद्र २१ गते

बैंकिङ खबर /  रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण बैंकिङ क्षेत्रले ठूलो भौतिक तथा वित्तीय क्षति व्यहोर्नुपरेको छ। प्राप्त पछिल्लो विवरणअनुसार दुई जिल्लाका विभिन्न स्थानमा रहेका १७ वटा बैंक शाखा तथा काउन्टरहरू प्रभावित भएका छन् ।

विपद्का कारण यी बैंक शाखाहरूको ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट भएको प्रारम्भिक विवरणले देखाएको छ। उक्त रकम बैंकको भल्टमा रहेको नगदबाहेकको क्षति हो ।

उपलब्ध विवरणअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको त्रिशुली शाखामा भएको छ। उक्त शाखाको करिब ५० करोड रुपैयाँ बराबरको स्थिर सम्पत्तिमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसैगरी सिटिजन्स बैंकको देवीघाट शाखामा १ करोड २० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको टिमुरे शाखामा ८६ लाख रुपैयाँ र हिमालयन बैंकको बेत्रावती शाखामा करिब ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

रसुवाको टिमुरेमा रहेका ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंकका शाखाहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

विपद्को प्रत्यक्ष असर बैंकका कर्मचारीमा समेत परेको छ। प्रभावित बैंकका कुल २६ कर्मचारी अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना कर्मचारी बेपत्ता छन्।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे, स्याफ्रुबेसी र मैलुङ काउन्टरका गरी ७ जना कर्मचारी सम्पर्कविहीन छन् भने ६ जना घाइते भएका छन्। प्रभु बैंकका टिमुरे र स्याफ्रुबेसी शाखाका ४ जना कर्मचारी बेपत्ता हुँदा ५ जना घाइते भएका छन् ।

सानिमा बैंकको टिमुरे शाखाका २ जना तथा लक्ष्मी सनराइज बैंकको टिमुरे शाखाका २ जना कर्मचारी पनि सम्पर्कविहीन छन्। यस्तै, हिमालयन बैंकको बेत्रावती शाखा र ग्लोबल आईएमई बैंकको टिमुरे शाखाका एक–एक जना कर्मचारी बेपत्ता रहेको विवरण छ। कृषि विकास बैंकको त्रिशुली शाखाका एक कर्मचारी घाइते भएका छन् ।

भौतिक संरचनासँगै बैंकको नगद मौज्दातमा समेत ठूलो क्षति पुगेको छ। प्रभावित १७ वटा शाखाको भल्टमा रहेको १७ करोड २४ लाख ५७ हजार ३७४ रुपैयाँ नगद बाढीका कारण हराएको वा नष्ट भएको प्रारम्भिक विवरण छ। यसबाहेक काउन्टरमा रहेको १ करोड १७ लाख ७१ हजार १९५ रुपैयाँ पनि बाढीले बगाएको छ ।

धेरै शाखामा रहेको नगदको यकिन विवरणसमेत संकलन हुन बाँकी रहेको बताइएको छ। बाढीका कारण अधिकांश प्रभावित शाखाका एटीएम तथा लकरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।विपद्को असर बैंकको नियमित कारोबारमा समेत देखिएको छ। प्रभावित १७ शाखामा कुल ७८ हजार २०४ वटा निक्षेप खाता सञ्चालनमा रहेका थिए भने २ हजार १२५ वटा कर्जा खाता रहेका छन् ।

यी शाखामार्फत बैंकहरूले कुल ४ अर्ब ४३ करोड १८ लाख १० हजार ४२८ रुपैयाँ निक्षेप परिचालन गरेका थिए। त्यस्तै, ती शाखाबाट २ अर्ब ४२ करोड ८० लाख ९० हजार ४७० रुपैयाँ बराबरको कर्जा प्रवाह भएको विवरण छ ।

यसरी हेर्दा रसुवा र नुवाकोटमा आएको विपद्ले बैंकिङ क्षेत्रको शाखा संरचना र सम्पत्तिमा मात्रै नभई ठूलो संख्यामा रहेका निक्षेपकर्ता तथा ऋणीको वित्तीय कारोबारलाई समेत प्रभावित बनाएको देखिन्छ। शाखाहरूको पुनःस्थापना र नियमित बैंकिङ सेवा सञ्चालनमा आउन समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा बैंकिङ गतिविधि सामान्य बनाउन थप चुनौती देखिएको छ ।