Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सर्वोच्चको आदेशपछि २ करोड धरौटी बुझाएर छुटे रोहित गुप्ता

२०८३ भाद्र १९ गते

काठमाडौं /  हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर कारागारबाट रिहा भएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको थुनामा पठाउने आदेश उल्टाउँदै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि गुप्ता डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।

दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर खरिद गर्न प्रयोग भएको देखिएपछि कम्पनीका तत्कालीन सञ्चालकहरूमाथि समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

यसै मुद्दामा विशेष अदालतले गत साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध गुप्ता सर्वोच्च अदालत पुगेका थिए ।सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले भदौ १७ गते विशेष अदालतको आदेश बदर गर्दै गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार गुप्ताले धरौटीबापत बैंक जमानत बुझाएपछि डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । विशेष अदालतको पत्र प्राप्त भएपछि बिहीबार साँझ उनलाई रिहा गरिएको कारागार कार्यालय डिल्लीबजारका एक अधिकृतले जानकारी दिएका छन् ।