काठमाडौं / स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने तथा प्राप्ति गर्ने प्रक्रियाअन्तर्गत दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा सर्ने गरी एकीकृत कारोबार गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त यी दुई लघुवित्त संस्थाबीचको प्राप्ति प्रक्रिया पूरा भएपछि विन नेपाल लघुवित्तको सम्पूर्ण वित्तीय कारोबार स्वरोजगार लघुवित्तको नामबाट सञ्चालन हुने जनाइएको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार एकीकृत कारोबार २०८३ भदौ २१ गते आइतबारदेखि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट सञ्चालन हुनेछ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सही व्यक्ति र सही खातामा मात्र कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा वालेटजस्ता डिजिटल वित्तीय सेवाले वित्तीय कारोबारलाई सहज, छिटो र सुरक्षित बनाएका छन् ।
यस्ता सेवाको प्रयोग गर्दा बैंकमा लामो समय लाइन बस्नुपर्ने तथा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता समेत कम भएको राष्ट्र बैंकले जनाएको छ। तर रकम स्थानान्तरण गर्दा बैंकको नाम, खातावालाको नाम, खाता नम्बर, मोबाइल नम्बर तथा भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न राष्ट्र बैंकले सचेत गराएको छ। गलत वा अनधिकृत कारोबार भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा सेवा प्रदायकलाई जानकारी गराई आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत र सुरक्षित रूपमा डिजिटल वित्तीय सेवाको प्रयोग गर्न अपिल गरेको छ ।