बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न माध्यमबाट सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको सूचनाअनुसार नेपालभित्र रहेका व्यक्ति तथा संस्थाले नगद, चेक, मोबाइल/इन्टरनेट बैंकिङ, वालेट तथा क्यूआर स्क्यानमार्फत कोषमा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
कोषमा रकम जम्मा गर्न नेपालका विभिन्न बैंकमा रहेका ‘PRIME MINISTER DISASTER RELIEF FUND’ नामका खाताहरू प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकका तोकिएका खाताहरू उपलब्ध गराइएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपाली र विदेशी नागरिक तथा संघसंस्थाले समेत तोकिएका बैंक खातामार्फत सहयोग रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। विदेशबाट सहयोग रकम पठाउँदा हिमालयन बैंकको हितीटार शाखामा रहेको कोषको खातामा SWIFT मार्फत रकम पठाउन सकिने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार जीएमई, Remitly, WorldRemit, TapTapSend लगायत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने विभिन्न रेमिट्यान्स कम्पनी तथा तिनका एपमार्फत पनि तोकिएका बैंक खातामा सहयोग रकम पठाउन सकिनेछ।
यसैगरी, विदेशमा जारी भएका भुक्तानी कार्ड प्रयोग गरी राष्ट्र बैंकले उपलब्ध गराएको सम्बन्धित अनलाइन माध्यममार्फत पनि सहयोग रकम पठाउन सकिने सूचनामा उल्लेख छ । राष्ट्र बैंकले विपद्का बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन इच्छुक व्यक्ति, संस्था तथा विदेशमा रहेका नेपालीलाई तोकिएका आधिकारिक माध्यमबाट कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ ।