Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

राष्ट्र बैंकको सुविधामा बैंकहरुमा देदिखएको नाफाको छनक !

२०८३ भाद्र ८ गते

बैंकिङ खबर / बैंकिङ क्षेत्रमा यतिबेला एउटा अनौठो तस्वीर देखिएको छ। अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको, निजी क्षेत्रमा कर्जाको माग सुस्त रहेको र बैंकिङ प्रणालीमा खराब कर्जाको दबाब कायमै रहेको अवस्थामा पनि वाणिज्य बैंकहरूको नाफा भने उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा नाफा करिब ३२ प्रतिशतले बढेको हो। तर यो वृद्धिलाई बैंकिङ क्षेत्रको समग्र स्वास्थ्यमा आएको सुधारको रूपमा मात्रै बुझ्दा तस्वीर अधुरो हुन्छ।

किनकि नाफा बढेको यही अवधिमा बैंकहरूको खराब कर्जाको समस्या भने समाधान भएको छैन। बरु धेरै बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ। उपलब्ध वित्तीय विवरणअनुसार केही बैंकमा खराब कर्जा दोहोरो अंकनजिक पुगेको छ भने प्रभु बैंकको एनपीएल १५ प्रतिशतभन्दा माथि पुगेको छ। एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयनलगायतका बैंक पनि उच्च खराब कर्जाको दबाबमा छन्। अर्कोतर्फ एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्डजस्ता बैंकले तुलनात्मक रूपमा न्यून खराब कर्जा कायम राखेका छन्।

खराब कर्जा बढ्दै, नाफा चम्किँदै
यही विरोधाभासले अहिलेको बैंकिङ नाफाको वास्तविक कथा खोज्नुपर्ने अवस्था बनाएको छ। बैंकको नाफा बढ्नुको एउटा प्रमुख कारण कर्जा व्यवसाय विस्तार मात्रै होइन। गत वर्ष बैंकहरूले ऋण असुलीमा सुधार गरेका छन् र त्यससँगै विगतमा खराब कर्जाका लागि छुट्याइएको प्रोभिजनमा पनि कमी आएको छ। प्रोभिजन घट्दा त्यसको प्रत्यक्ष प्रभाव खुद नाफामा पर्छ। तर अर्कोतर्फ खराब कर्जा भने उच्च तहमा छ। अर्थात् बैंकले पुरानो कर्जाबाट असुली गरेर केही राहत पाए पनि नयाँ तथा पुराना कर्जाको गुणस्तरमा रहेको जोखिम पूर्ण रूपमा हटेको छैन।

यसलाई अझ गहिरो रूपमा हेर्दा राष्ट्र बैंकले उपलब्ध गराएका नियामकीय सुविधाको प्रभाव पनि देखिन्छ। आर्थिक गतिविधिमा आएको सुस्तता, निर्माण तथा व्यवसाय क्षेत्रमा देखिएको समस्या र कर्जा असुलीमा परेको दबाबलाई ध्यानमा राख्दै राष्ट्र बैंकले केही कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सहज बनाएको छ। मौद्रिक नीतिले पनि समस्याग्रस्त कर्जाको व्यवस्थापन र वित्तीय क्षेत्रमा देखिएको दबाब कम गर्ने दिशामा विभिन्न व्यवस्था गरेको छ। यसले बैंकहरूलाई तत्काल ठूलो प्रोभिजनिङ भारबाट केही राहत दिएको छ। त्यसको असर नाफाको अंकमा देखिनु स्वाभाविक हो। तर कर्जाको वास्तविक गुणस्तरमा सुधार आएको छ कि नियामकीय सुविधाले खराब कर्जाको प्रभाव केही समयका लागि पछाडि धकेलेको मात्रै हो भन्ने प्रश्न अझै बाँकी छ।

सुविधा पाउँदा पनि नाफा बढाउन नसकेका बैंकहरू
राष्ट्र बैंकको सुविधा सबै बैंकका लागि समान रूपमा प्रभावकारी भने भएन। एउटै नियामकीय वातावरणमा काम गरिरहेका बैंकमध्ये केहीले नाफामा उल्लेख्य वृद्धि गरेका छन् भने केही बैंक अझै खराब कर्जा, प्रोभिजनिङ र कमजोर रिकभरीको दबाबमा छन्। पछिल्लो वित्तीय विवरणमा प्रभु, एनआईसी एशिया, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकजस्ता बैंकमा खराब कर्जा र प्रोभिजनिङको दबाबले नाफा तथा लाभांश क्षमतामै असर पारेको देखिन्छ। यसको अर्थ राष्ट्र बैंकले सुविधा दिएपछि मात्र बैंकको नाफा बढ्ने होइन। बैंकको विगतको कर्जा पोर्टफोलियो, खराब कर्जाको आकार, असुली क्षमता, प्रोभिजनिङको अवस्था र सञ्चालन खर्चले पनि नाफाको परिणाम निर्धारण गर्छ। यही कारण केही बैंकले नियामकीय सुविधा र कर्जा असुलीबाट लाभ उठाएर नाफा बढाउन सके पनि उच्च खराब कर्जा बोकेका बैंकलाई त्यसको लाभ सीमित भएको देखिन्छ।

नाफाको अंक बढ्यो, तर बैंकिङ क्षेत्र कति सुध्रियो ?
बैंकहरूको नाफा बढ्नु आफैंमा सकारात्मक संकेत हो। तर नाफा बढ्नु र बैंकिङ क्षेत्रको जोखिम घट्नु एउटै कुरा होइन। गत आर्थिक वर्षमा बैंकहरूको कर्जा प्रवाह ५.८१ प्रतिशतले मात्र बढेको थियो, जबकि निक्षेप १४.८१ प्रतिशतले बढेको थियो। यसले बैंकिङ प्रणालीमा पर्याप्त स्रोत भए पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहेको देखाउँछ। यस्तो अवस्थामा ब्याजदर घटेको, तरलता पर्याप्त रहेको र नयाँ कर्जाको माग कमजोर रहेको बैंकिङ बजारमा नाफा बढ्नुको संरचना हेर्नुपर्ने हुन्छ। बैंकको मूल व्यवसाय अर्थात् नयाँ कर्जा विस्तारबाट आम्दानी बढेको हो कि पुरानो कर्जा असुली, प्रोभिजनमा आएको परिवर्तन तथा अन्य आम्दानीले नाफा माथि तानेको हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। त्यसैले अहिले देखिएको नाफालाई ‘बैंकिङ क्षेत्र पूर्ण रूपमा सुधारको बाटोमा फर्कियो’ भन्ने निष्कर्षमा पुर्‍याउनु हतार हुनेछ। बरु यसलाई ‘नियामकीय सुविधा, रिकभरी र प्रोभिजनिङमा आएको सुधारले नाफामा राहत दिएको अवस्था’ का रूपमा बुझ्नुपर्ने देखिन्छ। अझ महत्वपूर्ण प्रश्न खराब कर्जाको हो। खराब कर्जा बढिरहँदा नाफा बढेको छ भने त्यो नाफा कति दिगो हो भन्ने परीक्षण आगामी त्रैमासिकमा हुनेछ। यदि कर्जा असुली वास्तविक रूपमा सुधारियो, खराब कर्जा घट्यो र नयाँ कर्जा विस्तारसँगै ब्याज आम्दानी बलियो भयो भने अहिलेको नाफा दिगो सुधारको संकेत बन्न सक्छ। तर खराब कर्जा निरन्तर बढिरह्यो भने अहिलेको नाफाको चमकलाई नियामकीय सुविधा र प्रोभिजनिङको प्रभावले केही समयका लागि उज्यालो बनाएको मात्र मान्नुपर्ने अवस्था आउन सक्छ।  यस अर्थमा अहिले नेपाली बैंकिङ क्षेत्रको कथा ‘नाफा बढ्यो’ मा मात्र सीमित छैन। वास्तविक कथा हो नाफा बढ्दा पनि खराब कर्जा किन बढिरहेको छ, राष्ट्र बैंकको सुविधाले कति राहत दिएको छ र त्यो राहत कति दिगो हुन्छ ? यही प्रश्नले आगामी दिनमा बैंकहरूको वास्तविक वित्तीय अवस्थाको परीक्षण गर्नेछ।