
बैंकिङ खबर / सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुबिसु र सुदूरपश्चिम रोयल्सबीच आगामी एनपीएल सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ । सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभव जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए ।
उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहने उल्लेख गरे ।सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए । सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता भएको उनको भनाइ छ ।
यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए । प्रविधि र डिजिटल कनेक्टिभिटीले टोली र समर्थकबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको छ । टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।

