Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

२०८३ श्रावण २६ गते

बैंकिङ खबर / व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा छाड्ने आदेश गरेको हो । गोल्छाविरुद्धको मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यही अभियोगमा अदालतले तत्कालका लागि १ करोड रुपैयाँ धरौटी तोकेको हो । धरौटीको आदेशसँगै अब मुद्दाको मुख्य विषय अभियोगमा उठाइएका दाबी र त्यसको प्रमाणमाथिको न्यायिक परीक्षणतर्फ अघि बढ्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छा पछिल्लो समय एकपछि अर्को कानुनी प्रक्रियामा जोडिएका छन् । यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । ती दुई मुद्दामा पनि कुल १ करोड रुपैयाँ धरौटी तोकिएको थियो। गोल्छा यसअघि अनुसन्धानकै क्रममा पक्राउसमेत परेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई धितोपत्रसम्बन्धी विषयसँग जोडिएको अनुसन्धानका क्रममा पक्राउ गरेको थियो ।