बैंकिङ खबर / नेपाल टेलिकमले पोस्टपेड मोबाइल सिमकार्डको नामसारी प्रक्रिया सहज बनाउन अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था सुरु गरेको छ ।
नेपाल टेलिकमका अनुसार एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले अब कम्पनीको KYC पोर्टल मार्फत आवश्यक विवरण अनलाइनमै भर्न सक्नेछन्। विवरण भरेपछि प्राप्त हुने OTP मार्फत नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणसमेत उपलब्ध गराउनुपर्नेछ ।
नामसारीका लागि ग्राहकले पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्नेछ। अनलाइनमार्फत विवरण भरेपछि भने अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
नामसारी प्रक्रियाका लागि तोकिएको दस्तुर तिर्नुपर्नेछ भने आवश्यक कागजातको सक्कल प्रति पनि पेश गर्नुपर्नेछ। ग्राहक स्वयं उपस्थित हुन नसक्ने अवस्थामा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
हाल यो अनलाइन नामसारी सेवा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध रहेको छ। कर्पोरेट ग्राहकले भने नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ। नयाँ व्यवस्थाले पोस्टपेड सिम नामसारी प्रक्रियालाई थप सहज र समय बचत हुने बनाउने अपेक्षा गरिएको छ ।


