Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

शाखा समायोजनमा राष्ट्र बैंकको कडाइ, ग्राहकको हितमा नयाँ व्यवस्था

२०८३ आश्विन २४ गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शाखा समायोजनसम्बन्धी व्यवस्थामा संशोधन गर्दै ग्राहकको हित र ग्रामीण क्षेत्रको वित्तीय पहुँचलाई प्राथमिकता दिएको छ। केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै शाखा समायोजनका लागि विभिन्न सर्त निर्धारण गरेको हो ।

राष्ट्र बैंकले असोज २३ गते जारी गरेको परिपत्र नं. ४ (क, ख, ग), २०८३/८४ ले विशेषगरी सहरी क्षेत्रमा शाखा समायोजनलाई सहज बनाउँदै ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको पहुँच कायम राख्नुपर्ने व्यवस्था गरेको छ ।

संशोधित निर्देशनअनुसार विद्युतीय भुक्तानी कारोबार बढेको र बैंक तथा वित्तीय संस्थाका शाखाको उपस्थिति पर्याप्त रहेको अवस्थामा महानगरपालिकाभित्रका शाखा समायोजन गर्न सकिनेछ । त्यस्तै, उपमहानगरपालिका तथा नगरपालिकाभित्र रहेका सहरी र सहरीउन्मुख क्षेत्रका शाखासमेत तोकिएका सर्त पूरा गरेर समायोजन गर्न सकिने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिका तथा नगरपालिकाभित्र शाखा समायोजन गर्दा एक किलोमिटरको दूरीभित्र सञ्चालनमा रहेका शाखामध्ये कम्तीमा एउटा शाखा कायम राख्नुपर्नेछ। यस व्यवस्थाले एउटै क्षेत्रमा रहेका शाखाको दोहोरोपन घटाउँदै ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

ग्रामीण क्षेत्रमा शाखा बन्द गर्न पूर्वस्वीकृति अनिवार्य

राष्ट्र बैंकले ग्रामीण क्षेत्रको वित्तीय पहुँचलाई ध्यानमा राख्दै गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा बन्द गर्ने, स्थानान्तरण गर्ने वा गाभ्ने कार्यमा पूर्वस्वीकृति अनिवार्य गरेको छ। सहरी क्षेत्रमा शाखा समायोजन गर्न सहज व्यवस्था गरिए पनि ग्रामीण क्षेत्रमा बैंकिङ सेवा कमजोर हुने गरी शाखा हटाउन नपाइने प्रावधान राखिएको छ ।

त्यस्तै, निर्धारित सर्तअनुसार शाखा समायोजन गर्दा चारवटा शाखा बन्द भएपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नरहेको ग्रामीण वडामा नयाँ शाखा खोल्नुपर्नेछ। नयाँ शाखा खोलेको विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्ने व्यवस्था छ ।

शाखा समायोजनअघि ९० दिनको सूचना

संशोधित निर्देशनअनुसार शाखा समायोजन गर्नुअघि सरोकारवालालाई जानकारी दिन कम्तीमा ९० दिनको सूचना प्रकाशन गर्नुपर्नेछ। यस्तो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइट र समायोजन हुन लागेको शाखाको सूचनापाटीमा राख्नुपर्नेछ । शाखा समायोजनका कारण ग्राहकले कर्जा चुक्ता गर्न वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारको शुल्क नलिई आवश्यक व्यवस्था मिलाउनुपर्नेछ। यसले शाखा समायोजनका क्रममा ग्राहकलाई थप आर्थिक भार नपर्ने व्यवस्था गरेको छ ।

शाखा समायोजन हुँदा कर्मचारीलाई हटाउन नपाइने

राष्ट्र बैंकले शाखा समायोजनका कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन नपाइने व्यवस्था पनि गरेको छ। त्यस्ता कर्मचारीलाई नजिकको शाखामा वा उनीहरूको प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ ।

यसका साथै शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्नुपर्नेछ। शाखा समायोजन गरेपछि तीन कार्यदिनभित्र राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा विवरण अद्यावधिक गरी तोकिएको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई सहरी क्षेत्रमा शाखा सञ्जाल व्यवस्थापन गर्न सहज बनाउने भए पनि ग्राहकको सेवा निरन्तरता, कर्मचारीको व्यवस्थापन र ग्रामीण क्षेत्रको वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने दायित्व कायम राखेको छ ।