
बैंकिङ खबर / माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा सुधार गरेको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.२४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। यस्तै, जगेडा कोषमा रकम छुट्याउनुअघिको नाफा १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४ करोड १६ लाख रुपैयाँभन्दा बढी हो ।
बैंकको आम्दानीका प्रमुख स्रोतमा समेत वृद्धि भएको छ। खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, नेट ट्रेडिङ आम्दानी ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
आम्दानीका विभिन्न स्रोतमा भएको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) १७ रुपैयाँ ८९ पैसा पुगेको छ । अघिल्लो वर्ष यो १५ रुपैयाँ ८९ पैसा थियो । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा कायम रहेको छ ।
यद्यपि, बैंकले ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेकाले त्यसको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ । यसपछि बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत कायम भएको छ ।
समग्रमा, गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकको खुद नाफा, ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीलगायत अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार देखिएको छ ।


