बैंकिङ खबर / नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणमा छनोट भएका छन्। अर्थ मन्त्रालयअन्तर्गत गठित कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनपछि पाँच जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको हो।
अन्तिम चरणमा पुगेका उम्मेदवारमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्। अब यी उम्मेदवारले अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नेछन् भने त्यसपछि हुने अन्तर्वार्ताका आधारमा समितिले योग्य उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्नेछ।
यसपटकको प्रतिस्पर्धामा पूर्व कार्यकारी निर्देशक पर्वत कुमार कार्की विशेष चर्चामा छन्। यसअघि नागरिक लगानी कोषको नेतृत्व सम्हाल्दा उनले दीर्घकालीन बचतसँग सम्बन्धित योजनालाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी पेन्सन तथा दीर्घकालीन लगानीसम्बन्धी योजनाको प्रवर्द्धन, संस्थागत सुधार र कोषको सेवा विस्तारमा उनको नेतृत्वलाई सकारात्मक रूपमा हेरिएको थियो। अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि प्राप्त आवेदनको प्रारम्भिक मूल्यांकनबाट यी पाँच जना अन्तिम चरणका लागि छनोट भएका हुन्। अब प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले सिफारिस गर्ने उम्मेदवारमध्येबाट सरकारले नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

