Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

२०८३ श्रावण १५ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि दुई सरकारी स्वामित्वका वाणिज्य बैंकसहित तीन बैंक कारबाहीमा परेका छन्। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमाथि गरिएको कारबाही विवरण सार्वजनिक गरेको हो।

कारबाहीमा पर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक रहेका छन्। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई निर्देशन पालना नगरेको भन्दै सचेत गराएको छ भने प्रभु बैंकलाई गम्भीर कमजोरी सुधार गर्न निर्देशन दिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को व्यवस्था पालना नगरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि बैंकलाई सचेत गराइएको हो।

त्यस्तै, कृषि विकास बैंकलाई पनि सोही विनियमावलीअनुसार राष्ट्र बैंकको निर्देशन पालना गर्न सचेत गराइएको छ। सरकारी स्वामित्वका दुवै बैंक राष्ट्र बैंकको नियमन तथा निर्देशनको दायरामा रहे पनि खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्थामा कमजोरी देखिएपछि कारबाहीमा परेका हुन्।

यता, प्रभु बैंकमाथि भने तुलनात्मक रूपमा गम्भीर प्रकृतिको कारबाही भएको छ। स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको भन्दै बैंकको सञ्चालक समितिलाई सुधार योजना तयार गरी लागू गर्न निर्देशन दिइएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशनको पालना नगरेमा आवश्यकताअनुसार सचेत गराउनेदेखि सुधार योजना लागू गराउनेसम्मका कारबाही गर्दै आएको छ। पछिल्लो कारबाहीले सरकारी स्वामित्वका बैंकसमेत नियामकीय निर्देशनको पालनामा थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ।

यसपटकको कारबाहीमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई सचेत गराइएको छ भने प्रभु बैंकलाई देखिएका कमजोरी सुधारका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइएको छ।