Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

कर्जा विस्तारमा संकुचनले अर्थतन्त्र थलियो : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

२०८३ श्रावण १५ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्ला केही वर्षयता कर्जा विस्तार सुस्त हुँदा त्यसले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको बताएका छन्। ‘सार्वजनिक ऋणः परिमाण, परिचालन, उत्पादकत्व र भावी रणनीति’ विषयक कार्यक्रममा बोल्दै उनले पछिल्ला तीन–चार वर्षदेखि कर्जा विस्तार ६/७ प्रतिशतभन्दा माथि जान नसक्नु चिन्ताजनक रहेको बताए। उनका अनुसार कर्जा प्रवाहमा अत्यधिक संकुचन हुँदा निजी क्षेत्रको लगानी, उत्पादन र आर्थिक गतिविधि नै प्रभावित भएको छ।

पूर्वगभर्नर नेपालले सार्वजनिक ऋणलाई लिएर अनावश्यक नकारात्मक भाष्य निर्माण गरिएको टिप्पणी गर्दै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४५ प्रतिशत मात्रै रहेको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो जोखिमपूर्ण स्तरमा नरहेको स्पष्ट पारे।

उनले नेपालको अधिकांश वैदेशिक ऋण ०.७५ प्रतिशतदेखि १.५ प्रतिशतसम्मको न्यून ब्याजदर र लामो भुक्तानी अवधिमा लिइएको भएकाले सार्वजनिक ऋणका विषयमा अनावश्यक त्रास फैलाउन नहुने धारणा राखे।

उनले अर्थराजनीतिक निर्णयहरूले अर्थतन्त्रलाई ‘ट्र्याप’मा पारिरहेको उल्लेख गर्दै आर्थिक वृद्धि सुस्त हुनु, पुँजीगत खर्च प्रभावकारी बन्न नसक्नु र लगानी विस्तारमा अवरोध आउनु अहिलेका मुख्य चुनौती भएको बताए। साथै, वित्तीय स्थायित्व कायम राख्नु नेपाल राष्ट्र बैंक को प्रमुख दायित्व रहेको उल्लेख गर्दै श्रीलंकाको आर्थिक संकटबाट नेपालले समयमै पाठ सिक्नुपर्नेमा जोड दिए।