Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

कमिसनको लोभमा बैंक खाता नदिन प्रहरीको चेतावनी, कानुनी कारबाही कडा

२०८३ श्रावण १४ गते

बैंकिङ खबर / नेपाल प्रहरीले कमिसनको प्रलोभनमा परेर आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न नदिन सर्वसाधारणलाई सचेत गराएको छ। पछिल्लो समय साइबर ठगीका घटनासँगै अपराधबाट कमाएको रकम विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले यस्तो चेतावनी दिएको हो।

प्रहरीका अनुसार साइबर अपराधमा संलग्न समूहले अपरिचित व्यक्तिलाई “खाता प्रयोग गर्न दिनुहोस्, आकर्षक कमिसन दिन्छौं” भन्दै बैंक खाताको विवरण माग्ने गरेका छन्। कतिपय अवस्थामा उनीहरूले अरूको नाममा नयाँ बैंक खाता खोल्नसमेत लगाउने गरेको पाइएको छ।

यस्ता खातामा अपराधबाट प्राप्त रकम जम्मा गर्ने, त्यसपछि नगद झिक्ने वा अन्य खातामा स्थानान्तरण गर्ने कार्य हुने गरेको प्रहरीले जनाएको छ। यसरी प्रयोग भएका खाताका वास्तविक धनीसमेत अनुसन्धानको दायरामा पर्नुका साथै कानुनी कारबाहीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने प्रहरीको भनाइ छ।

प्रहरीले बैंक खाता व्यक्तिगत वित्तीय पहिचान भएकाले कुनै पनि अवस्थामा अरूलाई प्रयोग गर्न नदिन आग्रह गरेको छ। साथै, बैंक खाता नम्बर, एटीएम कार्ड, पिन, पासवर्ड, मोबाइल बैंकिङको लगइन विवरण र ओटीपीजस्ता गोप्य जानकारी कसैसँग पनि साझा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रहरीको भनाइमा, केही रकम वा कमिसनको लोभमा गरिएको सानो लापरबाहीले आर्थिक अपराधमा संलग्न देखिने अवस्था सिर्जना हुन सक्छ। त्यसैले शंकास्पद प्रस्ताव वा व्यक्तिबाट सतर्क रहन र यस्ता गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।