बैंकिङ खबर/ लेखक तथा बैंकर डा. बुद्धि मल्लको दोस्रो प्रेरणामूलक कृति ‘सपना साकार हुन्छन्’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसअघि ‘सफलता सम्भव छ’ पुस्तकमार्फत पाठकमाझ सकारात्मक सोच र सफलताका सूत्र प्रस्तुत गरेका डा. मल्लले आफ्नो नयाँ कृतिमार्फत पनि आत्मविश्वास, नेतृत्व, सकारात्मक सोच र जीवन व्यवस्थापनसँग सम्बन्धित सन्देशहरू समेटेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विशेष समारोहबीच पुस्तकको विमोचन गरिएको हो। शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता तथा नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समीक्षा गर्दै यसको विषयवस्तुले पाठकलाई सकारात्मक सोच र आत्मविश्वास विकास गर्न प्रेरित गर्ने धारणा व्यक्त गरेका थिए।पुस्तकमा ‘सानो सोच्ने जोखिमबाट बच्छ, ठूलो सोच्ने इतिहास रच्छ’, ‘सधैं विद्यार्थी बनिरहनु’, ‘प्रतिकूलता परीक्षा हो’, ‘अवसरलाई नचिन्ने सधैं खिन्न हुन्छ’ र ‘समस्या समाधानमा फाइभ ह्वाई सिद्धान्त’ लगायत विभिन्न विषयमा आधारित ४९ वटा प्रेरणादायी लेख समावेश गरिएका छन्। लेखकले व्यक्तिगत विकास, नेतृत्व क्षमता, पारिवारिक सम्बन्ध, निर्णय क्षमता तथा जीवनमा सफलता हासिल गर्ने व्यावहारिक उपायहरूलाई सरल र प्रेरक शैलीमा प्रस्तुत गरेका छन्।
कार्यक्रममा वक्ताहरूले डा. मल्लको अघिल्लो कृति ‘सफलता सम्भव छ’ ले पाठकमाझ सकारात्मक प्रभाव छोडेको उल्लेख गर्दै नयाँ पुस्तकले पनि सबै उमेर समूह र विभिन्न पेशामा आबद्ध पाठकलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पुस्तकले सकारात्मक सोचको विकास, आत्मबल वृद्धि तथा चुनौतीलाई अवसरका रूपमा स्वीकार गर्न प्रेरित गर्नेछ।पूर्व सञ्चारकर्मी तथा बैंकर कल्पना मल्लले सञ्चालन गरेको कार्यक्रममा पुस्तक नेपालभरका विभिन्न पुस्तक पसलका साथै दराज, पुस्तक घर अनलाइन र शिखा बुक्समार्फत उपलब्ध हुने जानकारी दिइयो। लेखक डा. मल्लले नयाँ कृतिले मानिसहरूमा रहेको नकारात्मक सोच हटाउन, आशा र आत्मविश्वास बढाउन तथा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक भावना जागृत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


