बैंकिङ खबर / सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ जना कर्मचारीको स्थायी पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। लोक सेवा आयोगको सहमतिमा बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको हो। बैंकले प्रकाशित गरेको सूचनाअनुसार नवौं तहको वरिष्ठ प्रबन्धकमा १ जना, आठौं तहको प्रबन्धकमा २ जना, सातौं तहको उपप्रबन्धकमा ३ जना, छैटौं तहको सहायक प्रबन्धकमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायकमा ६८ जना नियुक्त गरिनेछ। सबै पद स्थायी प्रकृतिका हुन्।
सहायक प्रबन्धक पदका लागि प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ तथा नगद समूहमा आवेदन खुलाइएको छ। त्यसैगरी वरिष्ठ सहायक पदमा प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहका लागि योग्य उम्मेदवार छनोट गरिने बैंकले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र आवेदन दिन नसकेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म आवेदन दिने सुविधा पनि पाउनेछन्।
आवेदकले सम्बन्धित पदका लागि निर्धारण गरिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्ने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा स्थायी रोजगारी खोजिरहेका योग्य युवाका लागि राष्ट्रिय वाणिज्य बैंकको यो भर्ना अवसरलाई यस वर्षकै ठूलो खुला प्रतिस्पर्धामध्ये एक मानिएको छ।


