२०८३ बैशाख १० गते

अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेशमन्त्री कपुरबीच भेटबार्ता

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री समीर पल कपुरले शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उक्त छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरेका थिए । उनले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको बताएका थिए । 

अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको सो अवसरमा उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको बताएका थिए । 

सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तरराष्ट्रिय वित्त विकास सहयोगजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिएका थिए ।