बैंकिङ खबर / नेपाल आयल निगम लिमिटेडले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य बढाएको छ। आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, भने पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको छ।
आयल निगमका अनुसार मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर सीमित रूपमा गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य क्षेत्र अनुसार फरक राखिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा। सुर्खेत र दाङमा प्रतिलिटर १५५ रुपैयाँ। काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ।
डिजेल र मट्टीतेलको मूल्य पनि क्षेत्र अनुसार तोकिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १३९.५० रुपैयाँ। सुर्खेत र दाङमा प्रतिलिटर १४१ रुपैयाँ । काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमका अधिकारीहरूले भने, “पेट्रोलियम पदार्थको मूल्य समायोजन बजारको हालको अवस्थालाई ध्यानमा राखेर गरिएको हो। यसले आम उपभोक्तामा अस्थायी प्रभाव पर्ने भए पनि आपूर्ति र मागको सन्तुलन कायम राख्न आवश्यक छ।”



