२०८२ पुष २० गते

अशोक शेरचनमाथिको अनुसन्धान नरोकिने, पुनरबहाली गर्न नमिल्ने !

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रभु बैंकका सिइओ अशोक शेरचनको विषयमा आधिकारीक धारणा राख्न नपर्ने बताएको छ । शेरचनका बारे अनुसन्धान नसकिएको हुँदा केन्द्रीय बैंक यसबारेमा बोल्न नमिल्ने एक अधिकारीले बैंंकिङ खबरलाई बताएका छन् । उनका अनुसार यस विषय अनुसन्धानको विषय भएका कारण यसमा केन्द्रीय बैंक बोल्न जरुरी छैन । शेरचन सरकारी वकिलको निर्देशनमा शुक्रबार हिरासत मुक्त भएका छन् । उनलाई बाहिरै राखेर अनुसन्धान गर्न भनिएको छ । तथापी शेरचनको रिहाईमाथि गम्भिर प्रस्न उठेको छ । उनी विरुद्धको मुद्धालाई कम्जोर बनाउने रणनीति बनाइएको भन्दै सरकारी वकिल कार्यालयका विरुद्ध आवाज चर्किन थालेको हो । प्रभु बैंकबाट केन्द्रीय बैंकको नीति विपरीत कर्जा प्रवाह गरेर करिव १ अर्ब भन्दा बढी व्याज बैंकलाई नोक्सानी गरेको सीआइबीको अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बैंकका निलम्बीत सिइओ शेचरनसहित बैंकका डेपुटी सीईओ मनिराम पोखरेल लगायतलाई बैंकिङ कसुर मुद्धामा अनुसन्धान गरीरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू सरकारी वकिलको कार्यालयबाट हिरासत मुक्त गर्न दिएको निर्देशनमा आश्चर्य चकित भएका छन् । शुक्रबार शेरचन सहितलाई सरकारी वकिलले थुनामुक्त गरेर बाहिरै राखी अनुसन्धान गर्न भनेको थियो । शेरचनलाई बाहिरै राख्ने आदेशभएसँगै प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की सहित केही सञ्चालकले शेरचनलाई बैंकमै पुरबहाली गर्न चाहेका छन् । अध्यक्ष कार्कीको केन्द्रीय बैंकमा दोडधुप चलेको छ । उनी आफैले शेरचनलाई बेंकमा ल्याउन चाहेको एक संचालकले बैंकिङ खबरलाई बताए । कार्कीले केन्द्रीय बैंकका अधिकारीलाई समेत यस बारेमा पालै पालो फोन गरेर हैरान गर्ने गरेका छन् । केन्द्रीय बैंकका एक अधिकारीका अनुसार अध्यक्ष कार्कीले बैंकमा सिइओका रुपमा शेरचनलाई पुनरबहाली गर्न चाहेका छन् । तर मुद्धा किनारा नलागेसम्म पुनरबहाली गर्न नमिल्ने केन्द्रीय बैंकको नीति छ । यो अवधिमा अध्यक्ष कार्कीले सिइओ सेरचनसँग धेरैपटक बैठक गर्नुका साथै संचालकहरुसँग समेत बैठक गरेका छन् । ती छलफलमा निलम्बित भएका सीईओ शेरचनलाई बैंकमै ल्याउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिएको एक संचालकले बताए । अध्यक्षले पदबहाली गर्नका लागि लविङ गरेको र शेरचनले पनि पद बहाली हुन चाहेको ती संचालकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार अनुसन्धान प्रक्रिया सकिएर निर्दोष भएको प्रमाणीत भएपछि मात्रै पुनरबहाली गर्न सकिन्छ । तर शेरचनमाथिको अनुसन्धान सकिएको छैन । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नका लागि सरकारी वकिलको कार्यालयले सुविधा दिएको हो । तथापी उक्त सुविधाका बारेमा सरकारी वकिल माथि नै प्रस्न उठेको छ । निलम्बीत भएका सिइओ शेरचन बैंकमै आउने जाने गरेका छन् । यसबारेमा सीआईबीले भने अनुसन्धान प्रक्रिया निरन्तर अघि बढ्ने जवाफ दिएको छ ।