२०८२ कार्तिक १७ गते

हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी बन्यो नेशनल लाइफ

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको सबै संस्थापक शेयर खरिद गरेको छ।

नेशनल लाइफका सिईओ सुरेश प्रसाद खत्रीका अनुसार, नेप्सेको अनलाइन ट्रेडिङ सिस्टममार्फत बिहीबार र आईतबार गरी १ करोड ४० लाख ६ हजार २ सय १७ कित्ता शेयर खरिद सम्पन्न भएको छ। शेयर खरिद प्रक्रिया केन्द्रीय बैंकको अन्तिम स्वीकृति पश्चात् सम्पन्न भएको हो।

यो शेयर खरिदसँगै नेशनल लाइफले ११८.८८ रुपैयाँ प्रति कित्ताको दरमा कुल १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँ बराबरको कारोबार गरेको छ। यसअघि नेशनल लाइफले बिहीबार मात्र १ करोड ४० लाख ६ हजार २ सय ३० कित्ता शेयर खरिद गरेको थियो।

हबिब बैंकले बिक्री गर्ने सम्पूर्ण २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता संस्थापक शेयर खरिद गरेसँगै नेशनल लाइफ हिमालयन बैंकको सबैभन्दा ठूलो शेयरधनी बनेको छ।

पहिले नेपाल रि इन्स्योरेन्स कम्पनीले शेयर खरिद गर्न सक्ने चर्चा भए पनि, नेशनल लाइफले राष्ट्र बैंकको स्वीकृति पाएपछि मात्र प्रक्रिया अघि बढाएको हो। बिब बैंकले शेयरको न्यूनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ तोकेको थियो, तर नेशनल लाइफले सो भन्दा बढीमा सबै शेयर खरिद गर्ने प्रस्ताव अघि सारेको थियो।