
बैंकिङ खबर/ मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा एक महिनाभन्दा लामो समयदेखि सबै काम ठप्प भएको छ। बोर्डका कर्मचारीहरू असोज ७ गतेदेखि ३८ दिनसम्म आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन्।
यस कारण बोर्डमा रहेका हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्ता लगायतका सबै सेवा हाल अवरुद्ध छन्। कर्मचारीहरूले भने, सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको गुनासो गरेका छन्।
बोर्डमा नियमित काम कहिले सुरु हुने हो भन्ने पनि हाल अनिश्चित छ। नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने, “हाम्रो माग जबसम्म सरकारले सुन्दैन, काम ठप्प नै हुन्छ।” बोर्डमा रहेका दुई संगठन कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन्।