२०८२ आश्विन २ गते

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

बैंकिङ खबर/ एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्।

बैंक सञ्चालक समितिको बिहीबारको बैठकबाट उनको राजीनामा स्वीकृत भइसकेको जनाइएको छ । न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। न्यौपाने २०७९ कात्तिकमा दोस्रो पटक थप ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए ।

न्यौपानेको राजीनामा पछि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ । उनी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

आफ्नो र श्रीमतीको स्वास्थ्यमा समस्या आएकाले लामो समय बिदा बस्नु पर्ने भएपछि राजीनामा गरेको सीईओ न्यौपानेले बताएका छन् । ‘मेरो र श्रीमतीको स्वास्थ्यको कारणले लामो समय बिदा बस्नुपर्ने अवस्था आयो । अहिलेको अवस्थामा बैंकको सीईओ लामो समयसम्म बिदा बस्दा काम प्रभावित हुने देखिएपछि राजीनामा दिएको हुँ,’ उनले भनेका छन् ।

न्यौपाने बाहिरिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाललाई डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ। सञ्चालक समितिको बैठकले बिहीबार नै राठीलाई कामु मुकरर गरेको बैंकका कम्पनी सचिव दिपेन कार्कीले बताए।