
बैंकिङ खबर/ यहि भदौ २२ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको निशानामा बैंक तथा वित्तीय संस्थाहरु समेत परेका छन् । भदौ २३ गते भएको आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थामा क्षति पुग्यो ।
केही बैंकका शाखा कार्यालय, एटीएम मेसिन तथा गाडीहरुमा क्षति पुगेका छन् भने कृषि विकाश बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई गोली समेत लाग्यो । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले बताए ।
बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली हानेका हुन् । यस्तै बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिनमा तोडफोड, लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।
एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालका अनुसार दुलेगौंडा शाखामा ढुुगामुढा हुँदा सिसा फुटेको छ भने हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको छ ।
हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । उनका अनुसार बैंकको न्युरोड शाखा, भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए ।
ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए ।
यस्तै, आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था विभाग, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्यांक आउन सक्ने उनले बताए ।
राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप–कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको छ ।
नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ ।
माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।
सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ । प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।
गभर्नरको घरमा पनि तोडफोड र आगजनी
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैसेपाटीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने चितवनस्थित पुरानो घरमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले कांग्रेसको नेता भएका कारण नै गभर्नरको जिम्मेवारी पाएको भन्दै तोडफोड र आगजनी गरेका थिए ।
लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ
बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ । नेपाली सेनाको टोली परिचालित भएपछि बैंक लुटपाट गर्न खाज्नेहरु पक्राउ परेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय जनाएको छ । ‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोशिश भएको सेनाले भनेको छ ।
प्रहरीले माग्यो तोडफोड र आगजनीको फोटो तथा भिडियो
नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडियो मागेको छ। प्रहरीले सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडियो भए उपलब्ध गराउन आग्रह गरेको हो। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ। त्यसबाहेक त्यस्ता गतिविधिहरूको भिडियो भए प्रहरीले इमेलमा पठाउन भनेको हो।
त्यस्ता भिडियो nepalpoliceinfo@gmail.com मा पठाउन सकिनेछ। भिडियो पठाउने व्यक्तिको परिचय गोप्य राखिने पनि उनले सूचनामा भनिएको छ । यसर्थ, बैंकहरुको पनि प्रत्येक शाखा र एटिएम रहेको ठाउँमा सीसी क्यामरा जडान गरेको हुन्छ । उक्त क्यामराकै आधारमा उजुरी दिन सकिनेछ ।
बैंकमा आगजनी र तोडफोड गर्नेलाई कस्तो हुन्छ कारबाही ?
बैंकमा आगजनी वा तोडफोड गर्नु केवल सम्पत्तिको क्षति होइन, यो सार्वजनिक सुरक्षामाथिको गम्भीर आक्रमण हो। यसमा प्रायः तीन प्रकारका अपराध एकसाथ हुन्छन् :
आगजनी अपराध (भवन वा सम्पत्तिमा आगो लगाउने)
सार्वजनिक सम्पत्ति नष्ट गर्ने अपराध (बैंक भवन, एटीएम, कम्प्युटर आदि तोडफोड)
आतंक मच्चाउने अपराध (जनतालाई डराउने, आर्थिक प्रणालीलाई अव्यवस्थित पार्ने)
कानुन
मुलुकी फौजदारी संहिता, २०७४
धारा ५५५ : आगजनी सम्बन्धी सजाय
धारा ३९९ : सार्वजनिक सम्पत्ति तोडफोड
धारा १७७–१७८ : हत्या वा ज्यान मार्ने उद्योग (यदि मान्छे घाइते/मृत भए)
आतंकवाद र विघटनकारी गतिविधि नियन्त्रण ऐन, २०५८
वित्तीय संस्था वा सार्वजनिक सेवामाथि आगजनी/आक्रमण भएमा आतंकवादी गतिविधि मानिन्छ।
बैंक तथा वित्तीय संस्था ऐन, २०७३
बैंकको सुरक्षा तोडफोडलाई वित्तीय अपराधको रूपमा समेट्छ।
बैंकमा आगजनी वा तोडफोड गर्ने अपराधीलाई निम्न सजाय हुनसक्छ :
आगजनी मात्र भए : ५–१२ वर्षसम्म कैद र जरिवाना।
सार्वजनिक सम्पत्ति तोडफोड : ३–७ वर्ष कैद र क्षतिपूर्ति।
आगजनी + लुटपाट : १०–२० वर्षसम्म कैद र सम्पत्ति जफत।
मृत्यु भए : जन्मकैद वा आजीवन कैद।
आतंकवादी गतिविधि प्रमाणित भए : जन्मकैद वा अझ कडा सजाय।



