
बैंकिङ खबर/ नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३६.१ प्रतिशतले वृद्धि हो। सो वर्ष ६ अर्ब रुपैयाँ मात्र वैदेशिक लगानी आएको थियो। तर, त्यसअघिको २०७८/७९ मा भने १८ अर्ब ६० करोड रुपैयाँसम्म लगानी आएको थियो, जसले नेपालमा लगानी प्रवाहमा उतारचढाव देखाएको छ।
राष्ट्र बैंकका अनुसार हालसम्म नेपालले ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गरेको छ। तीमध्ये भारत, चीन र सिंगापुरले मात्र कुल विदेशी लगानीको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
भारतबाट सबैभन्दा बढी १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ (३२.२%) लगानी भित्रिएको छ। त्यसपछि चीनबाट ३३ अर्ब ८२ करोड (१०.२%), सिंगापुरबाट २७ अर्ब ६६ करोड (८.३%), आयरल्यान्डबाट २३ अर्ब १४ करोड (७%), दक्षिण कोरियाबाट २० अर्ब १८ करोड (६.१%) र अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड (५.९%) लगानी आएको छ।
क्षेत्रगत हिसाबले उद्योग क्षेत्रमा ५९.४ प्रतिशत र सेवा क्षेत्रमा ४०.५ प्रतिशत वैदेशिक लगानी पुगेको छ। सर्वेक्षण अवधिसम्म नेपालमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको विदेशी लगानी कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपालले लगानी आकर्षणमा सकारात्मक सुधार देखाए पनि समग्र दक्षिण एशियामा वैदेशिक लगानी घटेको छ। सन् २०२४ मा दक्षिण एशियामा कुल ३४.६ अर्ब अमेरिकी डलर मात्र FDI भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो।
भारतमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। सन् २०२३ मा २८.१ अर्ब डलर लगानी भित्रिएको भारतमा सन् २०२४ मा यो घटेर २७.६ अर्ब डलरमा पुगेको छ, जुन ४३.१ प्रतिशत कमी हो।
यद्यपि, नेपालमा सन् २०२४ मा ६० करोड डलर FDI भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो। पाकिस्तानमा लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशतले वृद्धि भएको छ। तर, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको देखिएको छ।
FDI-Report-2081



