
बैंकिङ खबर/ सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ। लामो समयदेखि खराब कर्जाको दबाबमा रहेका बैंकहरू क्रमशः सुधारतर्फ उन्मुख हुँदै नाफामा वृद्धि भएको देखिन्छ।
नाफा : नबिल पहिलो, ग्लोबल दोस्रो
नाफामा नबिल बैंक १५.०१% वृद्धि गर्दै ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड ४७ लाख रुपैयाँसहित रहेको छ। प्रभु बैंक ९६५% वृद्धि गर्दै ५ अर्ब ४४ करोड २६ लाख, एभरेष्ट बैंक ३२.८१% वृद्धि गर्दै ४ अर्ब ९१ करोड ८१ लाख, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एनएमबी र सानिमा क्रमशः पछिल्ला स्थानमा छन्।
ब्याज आम्दानीमा ग्लोबल अगाडि
खुद ब्याज आम्दानीमा ग्लोबल आइएमई १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँसहित शीर्षमा छ। दोस्रोमा नबिल बैंक (१६ अर्ब ३२ करोड ७२ लाख) र तेस्रोमा कुमारी बैंक (११ अर्ब ५५ करोड ४३ लाख) छन्।
प्रतिशेयर आम्दानी (EPS) : एभरेष्ट उच्च, हिमालयन न्यून
एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसासहित सबैभन्दा उच्च छ। कृषि विकास २७ रुपैयाँ ६३ पैसा र नबिल २६ रुपैयाँ ३४ पैसासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। हिमालयन बैंकको प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ ९८ पैसासहित सबैभन्दा न्यून छ।
खराब कर्जा : एभरेष्ट न्यून, हिमालयन उच्च
खराब कर्जामा एभरेष्ट बैंक ०.३८% मा सीमित रहँदा, हिमालयन बैंक ७.२८% सहित सबैभन्दा बढी प्रभावित छ। कुमारी, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकमा पनि खराब कर्जाको दर तुलनात्मक रूपमा उच्च छ।




