
बैंकिङ खबर/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू (बिफिआइ) सबल अवस्थामा रहेको बताएका छन्।
प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले हालको बैंकिङ क्षेत्र कानुनअनुसार सञ्चालनमा रहेको र जोखिम नियन्त्रणमा रहेको जानकारी गराएका हुन्।
उनका अनुसार, बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त छन्, र उनीहरूले नियमअनुसार लेखापरीक्षण गरिरहेका छन्।
बैंक तथा वित्तीय संस्थाको हालको अवस्था
क वर्ग: २० वटा वाणिज्य बैंक
ख वर्ग: १७ वटा विकास बैंक
ग वर्ग: १७ वटा वित्तीय कम्पनी
घ वर्ग: ५२ वटा लघुवित्त संस्था
पूर्वाधार विकास बैंक: १ वटा
अर्थमन्त्रीका अनुसार केही वाणिज्य बैंकहरूमा नेपाल सरकारको स्वामित्वसमेत रहेको छ।
जोखिम नियन्त्रण र निगरानी
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई जोखिममा आधारित सुपरीवेक्षण गर्दै आएको छ। साथै, बैंकहरूले खराब कर्जाका लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेका छन्। पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), तरलता अनुपात (Liquidity Ratio) लगायतका सूचकहरू अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेकाले अहिलेको अवस्थामा बैंकिङ क्षेत्र सबल र स्थिर रहेको पौडेलको भनाइ छ।



