२०८२ श्रावण ११ गते

एक वर्षपछि नेप्से ३००० बिन्दु माथि उक्लियो

बैंकिङ खबर/करिब एक वर्षपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३००० बिन्दु पार गरेको छ। साताको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै नेप्से ३००० बिन्दु माथि पुगेको हो।

कारोबार सुरु भएको ११ बजेर ८ मिनेटमा नेप्से १८.३७ अंकले वृद्धि भएर ३००१.०२ बिन्दुमा पुगेको छ। गत वर्ष २०८१ असार १६ गते नेप्से २०३७ बिन्दुमा थियो। त्यसपछि ३३ कारोबार दिनमा ९६३ अंकको वृद्धि हुँदै २०८१ साउन ३१ गते नेप्से ३०००.८१ बिन्दुमा पुगेको थियो।

त्यसयता पहिलो पटक आइतबार नेप्से ३००१ बिन्दु पार गर्दै उक्लिएको हो। कारोबार सुरु भएको आठ मिनेटको अवधिमा मात्रै नेप्सेमा करिब ९२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।