
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई पनि अब नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न दिने गरी व्यवस्था मिलाउने घोषणा गरेको छ। बोर्डले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था स्पष्ट गरिएको हो।
पछिल्लो समय पूँजी बजारमा विविधिकरण, स्थायित्व र लगानी विस्तारका लागि एनआरएनहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने आवाज तीव्र बनेको थियो। यस्तै सन्दर्भमा बोर्डले एनआरएनलाई नागरिकता प्रमाणका आधारमा धितोपत्र कारोबार गर्न दिने गरी कानुनी तथा प्रणालीगत आधार तयार गर्ने तयारी गरेको हो।
बोर्डको नीतिगत घोषणा अनुसार, आगामी वर्षभित्र आवश्यक प्राविधिक र नियामकीय संरचना निर्माण गरी एनआरएनलाई धितोपत्र बजारमा सहज पहुँच सुनिश्चित गरिनेछ। धितोपत्र बजारको विकासमा एनआरएनको पूँजी र अन्तर्राष्ट्रिय अनुभव उपयोगी हुने भन्दै यस निर्णयलाई सकारात्मक कदमका रूपमा लिइएको छ। बोर्डले यसैगरी वस्तु विनिमय बजार विस्तार, लगानीकर्ताको संरक्षण, वित्तीय शिक्षामा जोड तथा डिजिटल पहुँच अभिवृद्धिका विषयमा समेत नीति ल्याएको छ। एनआरएन संघ र पूँजी बजारका सरोकारवालाहरूले पनि बोर्डको निर्णयको स्वागत गर्दै यो व्यवस्था कार्यान्वयनमा छिटो अघि बढ्न आग्रह गरेका छन्।



