
बैंकिङ खबर/अब हरेकपटक नयाँ बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा सेवा लिँदा ‘केवाईसी’ (ग्राहक पहिचान विवरण) फर्म बारम्बार भर्नुपर्ने झन्झटबाट ग्राहकले मुक्ति पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा ‘एक पटक अद्यावधिक, सबै ठाउँ प्रयोग’ हुने गरी केवाईसी विवरण साझा गर्न सकिने प्रणाली विकासको घोषणा गरेको हो।
राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिको ‘वित्तीय समावेशिता र ग्राहक हित संरक्षण’ सम्बन्धी व्यवस्थामा भनिएको छ, “बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ।”
यसका अनुसार अब ग्राहकले एउटा बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सो विवरण पहुँच गर्न सक्नेछन्। यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने बताइएको छ।
राष्ट्र बैंकले विश्वास व्यक्त गरेको छ कि यसले केवाईसी प्रक्रिया थप छरितो, सुरक्षित र विश्वसनीय बनाउनेछ। प्रणाली कार्यान्वयनमा आएपछि वित्तीय कारोबारमा पारदर्शिता, पहुँच र ग्राहक अनुभवमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।




