२०८२ असार २९ गते

मौद्रिक नीतिपछि शेयर बजारमा उछाल : बढ्यो लगानीकर्ताको मनोबल

बैंकिङ खबर/ साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले १.०६ प्रतिशत अर्थात् २९ अंकको वृद्धि गर्दै २,७६०.८० विन्दुमा बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा सकारात्मक धारणा बनेको हो। आज बलिया र स्थिर कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०१ प्रतिशतले बढेर ४८१.५४ विन्दुमा उक्लिएको छ।

११ अर्बभन्दा बढीको कारोबार, ३११ स्क्रिप्टमा क्रियाशीलता

नेप्सेमा आज ३११ वटा स्क्रिप्टको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन हालको सन्दर्भमा उल्लेखनीय हो।

बजार जानकार: मौद्रिक नीति ‘बुल मार्केट’ को संकेत

बजार विश्लेषक दामोदर गजुरेलका अनुसार, “मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ, जसले शेयर बजारमा अपेक्षित उछाल ल्याएको छ।” उनले बैंक र लघुवित्त समूहमा आएको चमकलाई नीतिगत सहजताको प्रतिफल भनेका छन्।

उनका अनुसार बजार अहिले प्राविधिक रूपमा ‘अप ट्रेन्ड’ मा छ र बुल मार्केटको सुरुवाततर्फ उन्मुख देखिन्छ।

अर्का विश्लेषक पर्वत विष्टले पनि मौद्रिक नीति पश्चात बजारमा सकारात्मक सुधार आएको बताउँदै भने, “२८ सय विन्दु बजारको छोटो समयको प्रतिरोध हो, तर त्यस पार गरेपछि बजारले ३ हजार विन्दुसम्मको यात्रा गर्न सक्छ।”

समूहगत व्यापार : १३ मध्ये ७ समूहमा हरियाली

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ समूहमा हरियाली छायो।

बैंकिङ समूह सबैभन्दा बढी ३.८४% ले बढ्यो।

लघुवित्त समूह ३.६६%,

विकास बैंक १.४२%,

फाइनान्स १.९२%,

होटल तथा पर्यटन ०.९२%,

म्युचुअल फन्ड १.५१%,

उत्पादन तथा प्रशोधन ०.३३% ले बढेका छन्।

यता,

हाइड्रोपावर समूह ०.७६% ले घट्दै सर्वाधिक गिरावट देखियो।

लगानी समूह ०.०४%,

जीवन बीमा ०.०५%,

निर्जीवन बीमा ०.२७%,

अन्य ०.२४%,

व्यापार समूह ०.३०% ले घटे।

धेरै कारोबार भएका कम्पनीहरू

एनआईसी एशिया बैंकको सेयरमा आज सबैभन्दा धेरै, ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।

बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख,

एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख,

सानिमा बैंकको २५ करोड १८ लाख,

सिडिबी होल्डिङको २४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ।

धेरै कमाउने र गुमाउने कम्पनीहरू

आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लागेको छ।

जीवन विकास लघुवित्तको मूल्य ९.६१%,

नेष्डो समृद्ध लघुवित्तको ७.३०%,

समाज लघुवित्तको ६.५०% ले बढेको छ।

यता,

हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी, ९.९३% गुमाए।

राप्ती हाईड्रो ७.३४%,

भगवती हाइड्रो ६.९३%,

पञ्चकन्या माई हाइड्रो ५.३६% ले घटे।