
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सामान्यतः साउन दोस्रो हप्तासम्म मौद्रिक नीति ल्याउने गरिँदै आएकोमा यस वर्ष भने असार २७ गते नै नीति सार्वजनिक गरिएको हो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलका अनुसार मौद्रिक नीति समयमै ल्याउने योजनाअनुसार नै यो वर्ष असारमै सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “यो हाम्रा लागि छिटो हैन। हामीले धेरै अगाडिदेखि होमवर्क गरेर २७ गते नै मौद्रिक नीति ल्याउने योजना बनाएका थियौँ।”
उनका अनुसार, नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै मौद्रिक नीति ल्याउँदा कार्यान्वयनमा सहजता हुन्छ। “२७/२८ गते नै मौद्रिक नीति ल्याउन सकियो भने सर्कुलर पनि साउन १/२ गते नै ल्याउन सकिन्छ,” खरेलले भने, “आर्थिक वर्ष सुरु भएपछि कार्यान्वयन गर्न सजिलो हुन्छ।”
मौद्रिक नीति सार्वजनिक गरिने मिति गोप्य राखिएको विषयमा खरेलले विगतका अनुभव उल्लेख गरे। उनका अनुसार, अघिल्ला वर्षहरूमा मिति अगाडि नै सार्वजनिक हुँदा गोप्य विषयहरु बाहिरिने गरेकोले यसपालि मौद्रिक नीति सार्वजनिक हुने मिति गोप्य राखिएको हो।
राष्ट्र बैंक ऐन अनुसार मौद्रिक नीति यही समयमा ल्याउनुपर्ने भएकाले यसलाई योजना अनुसारै सार्वजनिक गरिएको खरेलले स्पष्ट पारे।




