Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चेक अनादर प्रमाणित गर्ने कार्यविधि, मिलापत्र भए कालोसूचीबाट निस्किन सकिने

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ जारी गरेको छ। राष्ट्र बैंकले कार्यविधिमा चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको हो।

कार्यविधिले कालोसूचीमा समावेश हुने अवस्थाहरुलाई संशोधन गर्दै खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित हुने भएमा, खातामा मौज्दात भए पनि चेकधारकले उल्लिखित विवरण सही भएको एकीन गर्नसक्ने अवस्थाबाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा चेक अनादर भई कालोसूचीमा राख्न सकिने व्यवस्था गरेको हो।

चेक अनादर हुने चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न धारकले सम्बन्धित बैंक तथा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्नेछ। यसरी निवदेन दिँदा अनादर भएको चेकको सक्कल प्रतिसहित उक्त चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्र कालोसूचीमा राख्न सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

यसरी आवेदन परिसकेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदन प्राप्त गरेको पाँच कार्यदिनभित्र कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्न सिफारिस गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। चेक अनादर/फिर्ता भई कालोसूचीमा समावेश भएको अवस्थामा सो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले उक्त चेकको रकम धारकलाई भुक्तान गरेमा वा धारकलाई भुक्तानी दिने गरी रकम इयरमार्क गरी राखेमा वा प्रचलित कानुनबमोजिम मिलापत्र गरेको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई प्राप्त भएमा कालोसूचीबाट हट्न सकिने व्यवस्था कार्यविधिले गरेको हो।