Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नारा होइन, दृष्टिकोण र कार्यान्वयनले मात्रै पर्यटन अगाडि बढ्छ: चन्द्र रिजाल(भिडियोसहित)

२०८२ असार २३ गते


बैंकिङ खबर/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी चन्द्र रिजालले नेपालमा अपार पर्यटन सम्भावना हुँदाहुँदै पनि रणनीतिक कमजोरीका कारण त्यसको भरपूर उपयोग हुन नसकेको बताएका छन्।

’बिजनेस स्टुडियो’ कार्यक्रममार्फत बोल्दै रिजालले नेपालका हिमाली भूगोल, सांस्कृतिक सम्पदा र जैविक विविधता पर्यटनको मुख्य पूँजी भए पनि सेवा र संरचनागत कमजोरीले अन्तर्राष्ट्रिय पर्यटक आकर्षणमा बाधा पुगिरहेको बताए।

उनले भने,“हामीसँग गन्तव्य छन्, आकर्षण छन्, तर त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्नेमा हामी पछि परेका छौं। पर्यटन एकैपटकको अभियान होइन, यो निरन्तर प्रक्रिया हो।” रिजालका अनुसार पर्यटकको पहिलो अनुभव विमानस्थलबाटै सुरु हुन्छ, त्यसैले एयरपोर्ट, यातायात, होटल, गाइड सेवा सबै क्षेत्रमा गुणस्तर र व्यावसायिकता ल्याउनुपर्ने आवश्यकता छ।

उनले थपे, “भिसा प्रणाली सजिलो, अन्तर्राष्ट्रिय हवाई पहुँच सहज र विश्वव्यापी प्रचार अभियान प्रभावकारी बनाउन नसक्दा विदेशी पर्यटक नेपाल आउन चाहेर पनि निरुत्साहित भइरहेका छन्।”

युवालाई जोड्ने, गाउँमै स्टार्टअप सम्भव रिजालले युवा पुस्तालाई पर्यटन व्यवसायसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै होमस्टे, गाइड सेवा, ट्राभल टेक समाधान र ग्रामीण पर्यटन मोडेलमा स्टार्टअप सुरू गर्न सकिने सम्भावनाको चर्चा गरे। “गाउँमै बसेर पनि विश्वस्तरीय सेवा दिन सकिन्छ, तर प्रशिक्षण र लगानी आवश्यक छ,” रिजालले भने।

रिजालले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय भए पनि सरकारको नीति अस्पष्ट र सहजीकरण कमजोर रहेको टिप्पणी गरे। “नेपाल भ्रमण वर्षजस्ता अभियान राम्रो हो, तर त्यो एकपटकको नाटक नहोस्,” उनले सचेत गराए। रिजालले पर्यटन विकासलाई दृष्टिकोण र कार्यान्वयनको संयोजनका रूपमा लिनुपर्नेमा जोड दिँदै सरकार, निजी क्षेत्र, लगानीकर्ता र स्थानीय समुदायबीच सहकार्य गरेर मात्र दीगो पर्यटन विकास सम्भव हुने बताए। “पर्यटन विकास नारा होइन, नीति र निरन्तर प्रयास हो,” उनले भने।