
बैंकिङ खबर/पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले हालको आर्थिक अवस्थालाई सम्बोधन गर्न लचिलो र संयमित मौद्रिक नीति आवश्यक रहेको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्ला वर्षहरूमा अत्यधिक खुकुलो मौद्रिक नीति लिइँदा अर्थतन्त्रमा समस्या देखिएको तर्क गरे।
पुनले भने, ‘अहिलेको समस्या विगतमा खुकुलो नीति लिएर संयमित हुन नसक्दा आएको हो, अब संयमित भएर लचिलो मौद्रिक नीति आवश्यक छ।’
उनले चालु आर्थिक वर्षको बजेटलाई पुरातन सोचबाट निर्देशित भएको भन्दै आलोचना गरे। बजेटमा नयाँ सोचको अभाव रहेको उल्लेख गर्दै बैंकहरुलाई जथाभावी लगानी गर्न दिने हो भने जनताको पैसा डुब्ने जोखिम रहेकोमा चिन्ता व्यक्त गरे।
‘बैंकिङ प्रणालीमा सुदृढता आवश्यक छ, नियमअनुसारको लगानी प्रणाली नभए वित्तीय संकट निम्तिन सक्छ,’ पुनले थपे। सांसद पुनले सरकारले केवल समस्याको सूची तयार गरेर मात्र बस्न नहुने भन्दै समाधानतर्फ उन्मुख हुने नीति लिनुपर्नेमा जोड दिए। ‘अब समाधानतर्फ अघि बढ्नुपर्छ, अर्थतन्त्र चलायमान र सुदृढ बनाउने जिम्मा सरकारको नीतिले नै लिनुपर्छ,’ उनले स्पष्ट पारे।




