Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरूको लाभांश क्षमतामा गिरावट, लचिलो नीति आवश्यक : सन्तोष कोइराला

२०८२ असार २२ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पछिल्लो समय बैंकहरू लाभांश वितरण गर्न सक्ने अवस्थामा नरहेको बताउँदै लचिलो मौद्रिक नीतिको माग गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले बैंकमा पनि लगानीकर्ताको लगानी रहेकोले उनीहरूलाई नियमित प्रतिफल उपलब्ध हुने वातावरण आवश्यक रहेको धारणा राखे।

“बैंकमा लगानीकर्ताको पूँजी छ, तर लाभांश दिन सक्ने स्थिति छैन,” उनले भने, “लाभांश कहिले दिन पाइन्छ ? भन्ने प्रश्न उठिरहेको छ। त्यसैले अब लचिलो नीति आवश्यक छ। यस्तो नीति आयो भने अर्थतन्त्र बाउन्स ब्याक हुन सहयोग पुग्छ।”

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सहज र उत्पादनमुखी उपायहरू आउने अपेक्षा व्यक्त गरे।

गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा समस्या

कोइरालाले अहिले बैंकिङ क्षेत्रले गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा ठूलो चुनौती भोगिरहेको बताए। बैंकहरू घरजग्गा जस्ता सम्पत्ति बिक्री गर्न खोज्दा स्थानीय तहले अनुमति नदिँदा प्रक्रिया अवरुद्ध हुने गरेको उल्लेख गरे।

“एक घर बिक्री गर्न स्वीकृतिको लागि स्थानीय तहमा पुग्दा स्वीकृति आउँदैन,” उनले भने, “त्यसैले सम्पत्ति व्यवस्थापनको लागि कुनै निकायको अनुमति आवश्यक नपर्ने सबल एसेट म्यानेजमेन्ट कम्पनी गठन गर्न आवश्यक छ।”

नीतिगत सुधारको आवश्यकता

कोइरालाले लिलामको सूचनामा फोटो वा नाम उल्लेख नगर्ने प्रावधानले समस्या हल नहुने तर्क राख्दै डिरेक्टिभ सेक्टर लेण्डिङ पोलिसीको पुनरावलोकन आवश्यक भएको बताए।

उनका अनुसार हाल बैंकको औसत आधार दर ६ प्रतिशत छ भने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा बाँकी छ। “उक्त रकम प्रवाह हुने नीति ल्याउन सकियो भने बैंकिङ क्षेत्र र अर्थतन्त्र दुवै सुदृढ बन्नेछ,” उनले बताए।

कोइरालाको धारणा अनुसार लचिलो नीति, सम्पत्ति व्यवस्थापनको स्पष्ट मापदण्ड र निजी क्षेत्रमैत्री वातावरणले मात्रै अहिलेको जटिल अवस्था सुधार गर्न सक्नेछ। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि कोइरालाको सुझावको समर्थन गर्दै बैंकिङ क्षेत्रलाई पुनः उर्जाशील बनाउन ठोस नीति आवश्यक रहेकोमा जोड दिएका थिए।