Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्राथमिकता प्राप्त क्षेत्रमा एनपीएल बढेपछि कर्जा अनुत्पादक क्षेत्रमा केन्द्रितः गभर्नर डा.पौडेल

२०८२ असार २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी उत्पादनशीलभन्दा बढी अनुत्पादक क्षेत्रमा केन्द्रित भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पछिल्लो समय प्राथमिकतामा रहेका क्षेत्रमा समेत गैरकर्जाको अनुपात (एनपीएल) बढेको जानकारी गराउँदै बैंकहरूले यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न हिचकिचाउने गरेको उल्लेख गरे।

उनले हाल बैंकहरूको निक्षेप र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा उच्च भएको बताए। साथै, राष्ट्र बैंकले चाँडै ल्याउने मौद्रिक नीतिलाई काम गर्ने मौका दिन आग्रह गरे।

गभर्नर पौडेलका अनुसार अघिल्लो समय बैंकले लाभांशमुखी दृष्टिकोणमा काम गर्दै आए पनि अहिले समग्र अर्थतन्त्रलाई ध्यानमा राखेर बैंकिङ प्रणाली अघि बढेको छ। उनले अर्थतन्त्र सुधार गर्न राष्ट्र बैंकको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूमा पनि लगानीकर्ताको लगानी भएकाले तिनीहरूले प्रतिफल पाउनु पर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। उनले पछिल्लो समयमा केही नीतिगत कारणले बैंकहरूको लाभांश वितरण क्षमतामा गिरावट आएको उल्लेख गर्दै लचिलो मौद्रिक नीति आवश्यक रहेको बताए।

कोइरालाले बैंकहरू अहिले गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनको समस्यामा परेको जनाउँदै त्यसका लागि एक सबल सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक रहेको धारणा राखे। उनले सम्पत्ति बिक्रीका प्रक्रियामा स्थानीय तहको सहयोग नपाएको गुनासो पनि गरे।

कार्यक्रममा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले गैर–बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि चुनौती बन्दै गएको बताए। उनले ऋणीहरूको क्षमताको अभाव, जानकारीको कमी तथा डिरेक्टिभ लेण्डिङ पोलिसीका जटिलताले समस्यामा थपिएको उल्लेख गरे।

पौडेलले डिरेक्टिभ लेण्डिङ पोलिसीको पुनरावलोकनका लागि छुट्टै अध्ययन आवश्यक भइसकेको बताए। बैंकिङ क्षेत्रले लक्ष्य पूरा गर्ने मानसिकताभन्दा अर्थतन्त्रको दीर्घकालीन हितलाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा सहभागीहरूबीच मौद्रिक नीतिबाट लचिलो र उत्पादनशील क्षेत्रमैत्री नीति आउनुपर्ने साझा धारणा रहेको देखिएको छ।