
बैंकिङ खबर/ विभिन्न बैंक, हाइड्रोपावर र लगानी योजनाहरुले सार्वजनिक निष्कासनमार्फत पूँजी जुटाउने अभियान तीव्र बनाएका छन्। ऋणपत्र, हकप्रद शेयर, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र म्युचुअल फण्ड योजनाहरु एकै समयमा सञ्चालनमा आएको देखिन्छ।
नेपाल एसबिआईको ७% ऋणपत्र निष्कासन
नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता निष्कासन गरिनेछ, जसमा १८ लाख कित्ता निजी बिक्रीमा र १२ लाख कित्ता सर्वसाधारण तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
न्यूनतम २५ कित्तामा आवेदन दिन सकिने यस ऋणपत्रमा आवेदन दिने अन्तिम मिति छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गते हुनेछ। नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको यसमा मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
राप्ती हाईड्रोको हकप्रद म्याद थप
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रद शेयरको निष्कासन म्याद असार २४ गतेसम्म थपिएको छ। यो कम्पनीले १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।
पिपुल्स पावरको ५०% हकप्रद खुला
पिपुल्स पावर लिमिटेडले आज (असार २२)देखि ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। यसले १ बराबर ०.५ अनुपातमा ६३ लाख २६ हजार कित्ता हकप्रद निष्कासन गरिरहेको हो। अन्तिम मिति साउन ११ गते तोकिएको छ।
ग्लोबल आइएमई समुन्नत योजना–२ सार्वजनिक निष्कासनमा
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ ले आजदेखि १० रुपैयाँ प्रतिएकाइ दरले १० करोड २० लाख इकाइ सार्वजनिक निष्कासनमा ल्याएको छ। अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन गर्न सकिने यो योजनामा छिटोमा असार २५ र ढिलोमा साउन ४ गते आवेदन दिन सकिनेछ।
विकास हाइड्रोको आईपीओमा आज अन्तिम दिन
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको २९ लाख ४२ हजार ७६० कित्ता आईपीओमा आवेदन दिने अन्तिम दिन आज असार २२ गते हो। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
माबिलुङ्ग इनर्जीको पहिलो चरणको आईपीओ जारी
माबिलुङ्ग इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ३६ हजार २९५ कित्ता आईपीओ निष्कासन गरेको छ। आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म रहेको छ।
बुङ्गल हाइड्रोले असार २९ बाट आईपीओ ल्याउने
बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा १० लाख ३७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। आवेदन दिने अन्तिम मिति साउन ११ गते रहेको छ भने पर्याप्त आवेदन नपरेमा साउन २६ गतेसम्म लम्बिन सक्नेछ।



