
बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडको सञ्चालक समितिले किशोरजंग कार्कीलाई नयाँ अध्यक्षमा चयन गरेको छ । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारी सेवामा लामो अनुभव बोकेका कार्की १७ वैशाख २०८१ मा प्रभु बैंकको सञ्चालक समितिमा नियुक्त भएका थिए । उनले २०३९ सालदेखि सरकारी सेवा सुरु गरेका थिए भने २०७७ साल वैशाखमा अनिवार्य अवकाश लिएका थिए ।
सरकारी सेवा अवधिमा कार्कीले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनले लोकसेवा आयोग, निजामती (राष्ट्रिय) किताबखाना, अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, भन्सार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायमा सहसचिव, महानिर्देशक र अन्य कार्यकारी भूमिकामा काम गरेका थिए ।
यसैगरी, उनले प्रमुख कर प्रशासकको रूपमा आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं २, बबरमहलमा काम गर्नुका साथै प्रमुख भन्सार प्रशासकको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा उपमहानिर्देशकको रूपमा भन्सार विभागमा पनि योगदान दिएका थिए ।
नवनियुक्त अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कार्यकारी समिति, कृषि अनुसन्धान कोष, लेखामान बोर्ड, केन्द्रीय चलचित्र जाँच समिति, नेपाल समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका संस्थाको सिफारिस तथा छनोट समितिमा सदस्य र अध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरेका छन् ।
उनले पटकपटक सुन तस्करीका विषयमा गठन भएका छानबिन समितिमा समेत सरकारको प्रतिनिधित्व गर्दै काम गरेका थिए । सुन तस्करी नियन्त्रण तथा छानबिनका लागि कानुनी तथा संस्थागत सुधारका सिफारिस दिनेसम्मका कार्यमा पनि उनी सक्रिय सहभागी थिए ।
यसैबीच, प्रभु बैंकको सञ्चालक समितिले इन्डिपेन्डेन्ट डाइरेक्टरमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।
बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव बोकेका अर्याल स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत रहिसकेका छन् । उनले कुमारी बैंकमा सन् २०१४ देखि २०१५ सम्म कार्यवाहक सीईओ तथा सन् २०१६ देखि २०२२ सम्म नियमित सीईओको रूपमा काम गरेका थिए ।
कर्पोरेट बैंकिङ, मार्केटिङ तथा रणनीतिक व्यवस्थापन क्षेत्रमा दखल राख्ने अर्यालले कुमारी बैंकमा चीफ मार्केटिङ अफिसर र कर्पोरेट तथा बैंकिङ विभागका प्रमुखको रूपमा पनि काम गरिसकेका छन् ।
शंकरदेव क्याम्पसबाट एमबीए गरेका अर्यालले पशुपति बहुमुखी क्याम्पस र नेपाली सेनाको शिक्षा विङमा अध्यापन गरेका छन् । उनले अडिट फर्ममा समेत काम गरेका थिए भने विभिन्न संस्थामा तालिम प्रशिक्षकको रूपमा पनि योगदान दिइसकेका छन् ।
प्रभु बैंकले अध्यक्ष तथा इन्डिपेन्डेन्ट डाइरेक्टरका रूपमा कार्की र अर्यालको अनुभवबाट बैंकलाई रणनीतिक रूपमा अगाडि बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।




