
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंकमा पर्याप्त तरलता भए पनि व्यवसायीहरू लगानी गर्न हिच्किएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी (बाफिया) विधेयकमाथि भएको छलफलमा बोल्दै सांसद कार्कीले जनताको बैंकप्रतिको विश्वास घट्न थालेको संकेत गर्दै गम्भीररूपमा सुधारको खाँचो औंल्याए।
“बैंकमा तरलता छ, तर व्यवसायी पैसा लिएर लगानी गर्न हिच्किएका छन्। जबसम्म उद्यमी र व्यवसायीले पैसा लिने वातावरण बनाइँदैन, तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,” उनले भने।
उनका अनुसार अहिले पनि एक करोड रुपैयाँभन्दा कमको ऋण लिन चाहने सर्वसाधारणलाई बैंकले सहज पहुँच दिइरहेका छैनन्। “धितोका नाममा अत्यधिक कागजी प्रक्रिया र दुःख दिइँदैछ,” उनले गुनासो गरे।
सांसद कार्कीले बाफिया विधेयकमाथि नयाँ ढंगले व्यापक छलफल आवश्यक रहेको बताउँदै गभर्नर र अर्थमन्त्रीसहितको विशेष कार्यक्रम गरी नीति निर्माण गर्नुपर्ने धारणा राखे।
“बाफियामा व्यापक सुधार आवश्यक छ, जसले सुस्त अर्थतन्त्रलाई गति दिन सकोस्। कृषिमा आधारित हाम्रो अर्थतन्त्रमा स्टार्टअप र साना कृषकलाई सहज कर्जाको पहुँच सुनिश्चित गरिनुपर्छ,” कार्कीको भनाइ थियो।
उनले चामल जस्ता कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्नसमेत कर्जानीतिको प्रभावकारी उपयोगको आवश्यकता औंल्याए। “जनताको बैंकप्रति भरोसा घट्न थाल्यो भने राज्य स्वयं संकटमा पर्छ,” कार्कीले चेतावनी दिए।




