
बैंकिङ खबर/ पछिल्लो समय सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) मा नेपालीहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ। ७ लाखभन्दा बढी लगानीकर्ता पुगिसकेका छन् भने एसआईपीको कुल आकार साढे १७ अर्ब रुपैयाँ नाघिसकेको छ।
साना लगानीकर्ताबाट मासिक १/२ हजार रुपैयाँका दरले हुने एसआईपी लगानीलाई म्युचुअल फण्डमा लगानीको भरपर्दो विकल्प मानिँदै आएको छ। ९ वटा मर्चेन्ट कम्पनीहरूले सञ्चालन गरिरहेका एसआईपी योजनामार्फत एनआईबिएल सहभागिता फण्ड, एनआईसी डेब्ट फण्ड, सिद्धार्थ स्किमलगायतमा उल्लेख्य लगानी भइसकेको छ।
विशेषज्ञहरूका अनुसार बैंकको कम ब्याजदर र बीमाको कडाइका कारण एसआईपी तर्फ आकर्षण बढेको हो। तर, बजार जोखिमका कारण सावधानीपूर्वक लगानी गर्न सुझाव दिइएको छ।
बीमा क्षेत्रका विज्ञहरू एसआईपी र बीमालाई परिपूरक भनी सहकार्य आवश्यक रहेको बताउँछन्। उता मर्चेन्ट बैंकरहरूले लगानीको विविधीकरण आवश्यक रहेको भन्दै एसआईपीले सुरक्षित तर लचिलो विकल्प दिनसक्ने तर्क गरेका छन्।
के हो एसआईपी ?
एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ । व्यवस्थित रूपमा लगानी गर्दै जाने योजना नै एसआईपी हो । वित्तीय क्षेत्रमा जानकारी राख्ने हरेकलाई एसआईपीबारे अवगत रहे पनि धेरै सर्वसाधारण यसबारे अझै अनभिज्ञ नै छन् ।
बैंकको ब्याजदर घट्दै गएको यो बेला एसआईपी लगानीको सही माध्यम हुन सक्छ । जागिर वा ज्याला मजदुरीबाट आउने पैसाबाट महिनैपिच्छे वा ३–३ महिना वा ६–६ महिनामा निश्चित रकम छुट्याएर एसआईपीमा सहभागी हुन सकिन्छ । न्यूनतम १ हजार रुपैयाँबाटै यसमा सहभागिता जनाउन सकिन्छ ।
एसआईपी लगानीपछि रकम केही वर्षपछि प्रतिफल सहित एकमुष्ट झिक्न सकिन्छ वा योजना व्यवस्थापक (एसआईपी गरिदिने कम्पनी) ले वर्षैपिच्छे दिएको नगद लाभांश लिन सकिन्छ ।
म्युचुअल फन्डका खुलामुखी योजना निष्कासन गरेका विभिन्न संस्थाले एसआईपी गरिदिन्छन् । नेपालमा २०७६ सालदेखि खुलामुखी योजना निष्कासन हुन थालेका हुन् ।
नेपालमा हाल ७ वटा खुलामुखी योजना सञ्चालनमा छन् । एनआईबीएल सहभागिता फन्ड, नबिल फ्लेक्सी क्याप फन्ड, कुमारी सुनौलो लगानी योजना, शुभलक्ष्मी कोष, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, एनएमबी सरल बचत फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम सञ्चालनमा छन् । यिनै योजनामध्ये आफूलाई उपयुक्त लागेको योजनामा एसआईपी गर्न सकिन्छ ।
एसआईपीमा गरेको लगानी के हुन्छ ?
सर्वसाधारणले एसआईपीमा गरेको लगानीबाट योजना व्यवस्थापक कम्पनीले म्युचुअल फन्डका खुलामुखी योजनाबाट इकाइ प्रदान गर्छन् । यी योजनाको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हुने गर्छ ।
एसआईपीको रकम यिनै योजनाका व्यवस्थापकले धितोपत्र, ऋणपत्रमा लगानी गर्छन् । यस किसिमको विविधीकरणले सम्पत्तिमा हुने लगानीको जोखिम कम गर्न मद्दत गर्छ ।
खुलामुखी योजनालाई अनुभवी कोष प्रबन्धकहरूद्वारा सञ्चालनमा ल्याइएको हुन्छ जसले लगानीकर्ताका तर्फबाट लगानी गर्ने निर्णय गर्छन् ।
लगानी उद्देश्यभित्र रहेर अधिकतम प्रतिफल प्राप्त गर्न पेसेवरहरूले कम्पनीको विश्लेषण, अनुसन्धान, बजार प्रवृत्ति विश्लेषण गरी सक्रिय रूपमा पोर्टफोलियो व्यवस्थापन गर्छन् ।
योजनाको रकम लगानी भएका विभिन्न कम्पनीका सेयर वा अन्य सम्पत्तिको मूल्य बढ्दै जाँदा योजनाको इकाइ मूल्य (न्याभ) पनि बढ्दै जान्छ । लगानी गर्नेले इकाइ बेच्दाखेरि त्यही न्याभ बराबरकै मूल्य पाउँछन् ।
यस्तो योजना दोस्रो बजार (नेप्से) बाट किनबेच हुँदैन । किनबेचका लागि तोकिएका सम्बद्ध बैंक तथा वित्तीय संस्थाका शाखामै जानुपर्छ ।
एसआईपीबाट आएको प्रतिफल कस्तो छ ?
एसआईपीको लगानी प्रतिफल पनि उत्कृष्ट देखिन्छ । खुलामुखी योजनाको इतिहास धेरै लामो छैन । उदाहरणका रूपमा, पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डलाई लिऔं ।
पहिलो वर्ष २०७६/७७ को नाफाबाट ८.२५, दोस्रो वर्ष २०७७/७८ को ५० प्रतिशत, तेस्रो वर्ष २०७८/७९ को नाफाबाट ७.२ प्रतिशत तथा चौथो वर्ष २०७९/८० बाट ४ प्रतिशत लाभांश दिइएको छ । चार वर्षमा औसत १७.३६ प्रतिशत लाभांश पाएका छन् । चार वर्षअघि एसआईपी गर्नेले पनि कुल लगानीको औसतमा त्यति नै लाभांश पाएका छन् ।
एसआईपीमा कसरी सहभागी हुने ?
एसआईपी मार्फत गरिने लगानी बिस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । लगानी भइरहँदा पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ ।
लगानीकर्ताले एसआईपी छनोटका लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले एसआईपी मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ ।
लगानीकर्ताले आफ्नो सुविधाका आधारमा चेक वा अनलाइन माध्यमबाट लगानी रकम पठाउन सक्छन् । महिनैपिच्छे वा त्रैमासिक लगानीका लागि भुक्तानी गर्ने रकम पनि अनलाइनबाटै गर्न सकिन्छ ।
त्यसपछि योजनाको इकाइ लगानीकर्तालाई प्राप्त हुन्छ । हरेक महिना वा त्रैमासिक रूपमा लगानीकर्ताले रकम तिर्दै जाँदा योजनाको इकाइ पनि बढ्दै जान्छ । त्यो योजनाबाट पाउने नगद लाभांश नगदकै रूपमा लिन वा फेरि लगानी गरी इकाइ पनि थप्न सकिन्छ ।
एसआईपी क्याल्कुलेटरले एसआईपी मार्फत गरिएको लगानीमा प्रतिफल अनुमान गर्न सिकाउँछ । एसआईपी क्याल्कुलेटर लगानीकर्तालाई सम्भावित म्युचुअल फन्डहरूको सामान्य प्रतिफलको जानकारी दिने गरी डिजाइन गरिएको हुन्छ ।




