
बैंकिङ खबर/ कर्णाली विकास बैंकको साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक घोटाला प्रकरणमा पूर्व अध्यक्ष पक्राउ परेका छन् । पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मिश्रलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएको हो ।
वि.सं. २०६६ देखि २०७५ सालसम्म मिश्र कर्णाली विकास बैंकको अध्यक्ष पदमा रहेर संस्थागत सञ्चालकको हैसियतमा प्रत्यक्ष रुपमा बैंकको सञ्चालनमा संलग्न थिए।
प्रारम्भिक अनुसन्धानमा बैंक सञ्चालकहरूको मिलेमतोमा योजनाबद्ध तरिकाले साढे २ अर्ब रुपैयाँ हिनामिना गरिएको प्रमाणहरू फेला परेको सीआईबी स्रोतको दाबी छ ।
मिश्र नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा उनलाई नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार सिफारिस गरिएको थियो।
यसअघि नै बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीसहित तीन जना पक्राउ परिसकेका छन्। अब मिश्र पक्राउसँगै पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।
हाल कर्णाली विकास बैंक नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन भइरहेको छ। राष्ट्र बैंकको समन्वयमा सीआईबीले यो घोटालामा संलग्नहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान अघि बढाएको छ।




