
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले व्यवसायीलाई ऋण तिर्न दुई वर्ष समय थप गर्दै चालु पुँजी कर्जा मार्गदर्शनको दोस्रो संशोधन गरेको छ। चालु पुँजी कर्जा मार्गदर्शन लागू हुनुपूर्व प्रवाहित कर्जा २०८२ असार मसान्तसम्म तिरिसक्नुपर्ने हालसम्मको व्यवस्था थियो। तर, केन्द्रीय बैंकले मार्गदर्शनको दोस्रो संशोधन गर्दै उक्त समय २०८४ असार मसान्तसम्म बनाएको छ। ०८२ असार मसान्तको समय सीमा चालु पुँजी कर्जा मार्गदर्शनको पहिलो संशोधनले गरेको थियो।
दोस्रो संशोधनमा भनिएको छ, ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको मिति २०७९ कार्तिक १ गतेपूर्व प्रवाह भएका चालु पुँजी कर्जालाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने छ।’
तर, यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता (राइटअप) गर्न नपाइने राष्ट्र बैंकले उल्लेख गरेको छ। यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन।


