
बैंकिङ खबर/अब नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त गरेका र कम्तीमा ५० करोड रुपैयाँ चुक्तापुँजी भएका लगानी कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्न पाउने भएका छन्।
धितोपत्र बोर्डले आइतबार लगानी कम्पनीहरूका लागि आईपीओ निष्काशनसम्बन्धी नीतिगत व्यवस्था परिमार्जन गर्दै नयाँ मापदण्ड सार्वजनिक गरेको हो।
अब विस्तृत क्षेत्र खुला
यसअघि लगानी कम्पनीहरूले यातायात, सञ्चार र ऊर्जाजस्ता केही क्षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था थियो। अब भने कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि, र खनिज उत्खनन क्षेत्रलाई समेत समेटिने गरी लगानी क्षेत्रको दायरा फराकिलो पारिएको छ।
आईपीओ निष्काशनका सर्तहरू
नयाँ व्यवस्थाअनुसार आईपीओ निष्काशन गर्न चाहने लगानी कम्पनीले निम्न मापदण्ड पूरा गर्नुपर्नेछ:
कम्पनी कम्तीमा पछिल्ला तीन वर्षदेखि सञ्चालनमा रहनुपर्ने,
पछिल्ला दुई आर्थिक वर्षमा नाफामा रहनुपर्ने,
प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी हुनुपर्ने,
चुक्तापुँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने।
बुक बिल्डिङमा मात्र योग्य लगानीकर्ता बन्ने
आईपीओ निष्काशन गर्ने कम्पनीहरुले बोर्डबाट स्वीकृति प्राप्त गरेपछि ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि र खनिज उत्खनन क्षेत्रका संगठित संस्थाको बुक बिल्डिङ विधिबाट हुने आईपीओमा मात्र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न पाउने व्यवस्था गरिएको छ।
अन्य आवश्यकताहरू
यस्ता लगानी कम्पनीहरूले सम्बन्धित क्षेत्रको धितोपत्रमा मात्र लगानी गर्नुपर्नेछ।
न्यूनतम क्रेडिट रेटिङभन्दा कम्तीमा एक तह माथिको ग्रेड प्राप्त गरेको हुनुपर्ने ।
नेपाल सरकारको सहकार्यमा वा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनको प्रक्रिया पुरा गरेको संगठित संस्थाले स्थापना गरेको हुनुपर्ने।




