Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुदूरपश्चिममा बैंकवित्तको कर्जा लगानी सामान्य वृद्धि

२०८२ असार ८ गते


बैंकिङ खबर/ सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा सामान्य वृद्धिदर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि प्रतिवेदनअनुसार कुल कर्जा लगानी ०.२७ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

यस वृद्धिमा मुख्य योगदान सेवा क्षेत्रको रहेको छ । सेवा क्षेत्रमा कर्जा लगानी ०.८३ प्रतिशतले वृद्धि भई १ खर्ब ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जाको ७२.८४ प्रतिशत हिस्सा हो।

सेवा क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार (४३.०४%), उपभोग कर्जा (३१.९६%), शिक्षा (३.६२%), रियल इस्टेट (३.२३%) र पर्यटन (३.०९%) मा सबभन्दा बढी लगानी देखिएको छ।

कृषि र उद्योगमा गिरावट

कृषि क्षेत्रमा कर्जा लगानी ०.९७ प्रतिशतले घटेर १६ अर्ब ३६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। कृषि कर्जामध्ये १८.३४ प्रतिशत कृषि तथा कृषिजन्य सेवामा लगानी गरिएको छ।

कृषिमा सबैभन्दा धेरै कर्जा कैलाली (६७.०१%) र कञ्चनपुर (२०.४३%) जिल्लामा प्रवाह भएको छ। विपरित रूपमा, बाजुरा (१.१०%) र अछाम (१.३०%) मा सबैभन्दा कम कर्जा प्रवाह भएको छ।

उद्योगतर्फ पनि कर्जा लगानीमा १.३२ प्रतिशतले गिरावट आएको छ। सुदूरपश्चिममा कूल २५ अर्ब २६ करोड ४५ लाख रुपैयाँ अर्थात १६.४८ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह भएको छ। औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन क्षेत्रले ३८.६५ प्रतिशत हिस्सा ओगटेको छ।

निक्षेप घट्दो, बेरोजगारी उच्च

निक्षेप संकलनतर्फ भने ऋणात्मक वृद्धि देखिएको छ। प्रतिवेदनअनुसार २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तसम्म सुदूरपश्चिममा निक्षेप ३.१३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ।

यसैबीच, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभर सूचीकृत ६ लाख ९७ हजार ७२५ बेरोजगारमध्ये सबैभन्दा धेरै २०.०६ प्रतिशत अर्थात १ लाख ३९ हजार ९३६ जना सुदूरपश्चिम प्रदेशका रहेका छन्।