
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपालको सेयर बजारमा लगानी गर्न थप सहज बनाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले हालै जारी विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको चौथो संशोधनमार्फत यो व्यवस्था स्पष्ट गरेको हो।
संशोधित विनियमावली अनुसार, अब गैरआवासीय नेपालीहरूले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीमा सेयर खरिदका लागि विदेशी लगानीको स्वीकृति प्राप्त गर्नु अगावै नै रकम नेपाल भित्र्याउन सक्नेछन्। यसरी ल्याइएको रकमलाई लगानीको स्वीकृति पछि पनि विनियमनको दृष्टिले अवरोध मानिने छैन।
रकम फिर्तासम्बन्धी व्यवस्था पनि परिमार्जन गरिएको छ। सेयर बाँडफाँडमा नपरेर आवेदन रकम फिर्ता गर्नुपर्ने अवस्थामा गैरआवासीय नेपालीले बैंक तथा वित्तीय संस्था, इन्भेस्टमेन्ट कम्पनी, वा सम्बन्धित शेयर रजिस्ट्रारको सिफारिससहित एकाईमा निवेदन दिनुपर्नेछ।
यसैगरी, कर प्रयोजनका लागि विदेशी लगानीकर्ता वा सम्बन्धित उद्योग, कम्पनी, वा कर कार्यालयको नाममा तोकिएको रकम बैंक तथा वित्तीय संस्थामार्फत भित्र्याउन सकिनेछ। यस प्रक्रियामा अब राष्ट्र बैंक वा अन्य निकायको पूर्व स्वीकृति आवश्यक नपर्ने उल्लेख छ।
राष्ट्र बैंकको यो कदमले एनआरएनहरूलाई नेपाली पूँजी बजारमा थप आकर्षित गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने र पूँजी प्रवाह बढाउने अपेक्षा गरिएको छ।



