Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहुलियत ऋण लिनेको संख्या घट्दै

२०८२ असार ४ गते

बैंकिङ खबर/सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको कर्जाबाट लाभ लिने ऋणीको संख्या क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ (२०२४-२५) को पहिलो १० महिनामा सहुलियत कर्जा लिनेको संख्या गत वर्षको तुलनामा झन्डै २० हजारले घटेको छ।

चालु आवमा विभिन्न शीर्षकमा १ लाख २५२ जनाले सहुलियत ऋण लिएका छन्। ती ऋणीहरूले कुल ८ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। जबकि अघिल्लो आव २०८०/८१ मा १ लाख २० हजार २७४ जनाले १२ अर्ब ६८ करोड १९ लाख रुपैयाँ ऋण लिएका थिए। सो भन्दा अघिल्लो वर्ष २०७९/८० मा १ लाख ४५ हजार ७७८ जनाले १९ अर्ब ७० करोड ६१ लाख रुपैयाँ ऋण लिएका थिए।

सहुलियत ऋणमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ। चालु आवको १० महिनामा कृषि कर्जामा ३७ हजार ७६८ जनाले ६ अर्ब २७ करोड ५० लाख रुपैयाँ ऋण लिएका छन्। यद्यपि, यो संख्या अघिल्लो वर्षको तुलनामा ८ हजार ५८८ ले घटेको हो। ऋण रकम पनि २ अर्ब ४१ करोड ४८ लाखले घटेको छ। महिला उद्यमशील कर्जामा ६० हजार ९३७ जनाले २ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋण लिएका छन्। ऋणी संख्याका हिसाबले यो शीर्षक कृषि कर्जाभन्दा माथि भए पनि रकमको हिसाबमा कृषि कर्जा अझै अगाडि रहेको छ।